काठमाडौं, १४ माघ । आजभन्दा ५ वर्षअघि काठमाडौंको माछापोखरिस्थित भव्य घर धितोमा राखेर काजिराम पियाले प्राइम कमर्सियल बैंकबाट ४ करोड रुपैयाँ ऋण लिए । बैंकले नै छनौट गरेको मुंल्याकनकर्ता कम्पनी केभ कन्सल्ट्यान्टले घरको मार्केट भ्यालु ५ करोड ८९ लाख ६३ हजार गरेको थियो ।
कर्जा लिएपछि ऋणी काजिराम र बैंकको सम्बन्ध समधुर बन्दै गएको थियो । उनले नियमित किस्ता तिर्दै आएका थिए । नियमित किस्ता तिरिराखेकै अवस्थामा बैंकले एकाएक सबै रकम चुक्ता गर्न भन्दै ताकेता गर्न थाल्यो ।
‘हामीलाई सम्पूर्ण रकम एकैसाथ तिर्न भनेपछि हामीले बैंक समक्ष किस्ता किस्ता गरि सबै ऋण चुक्ता गर्छौं किन यसरी हतार गर्नुभएको हो ?’ काजिरामले अनुनय भावमा यस्तो प्रश्न गरे । तर, बैंकले दबाव दिन छाडेन । २०७५ साल चैत्र २९ गते उनले एकैसाथ ३० लाख ५० हजार रुपैयाँ रकम बुझाए । तर बैंकले उनको घर नै खाने नियत राखेको चाल पाएपछि उनले घर नै बेचविखन गरेर भएपनि ऋण निखन्ने निधो गरे । ग्राहक खोज्दै जाँदा धादिङको निलकण्ठ नगरपालिका सिरानबजार घर भएका चक्रबहादुर भण्डारी र उनका छोरा गोविन्द भण्डारी सम्पर्कमा आए । ‘मेरो घर प्राइम कमर्सियल बैंकमा धितोमा छ । उक्त ऋण तिरेपछि तपाईंलाई घर पास गरिदिन्छु नभए बैंकमा गएर बुझ्नुुस् । घरबाट मासिक ७–८ लाख बहाल पनि आउँछ,’ काजिरिामले चक्रबहादुरलाई भनेका थिए ।
त्यतिबेलासम्म घरको मोल बढिसकेको थियो । बैंकले उनको घर फेरी मुल्यांकन गर्न भन्यो । बैंकले नै छानेको मुल्यांकनकर्ता मार्फत फेरी मुल्यांकन गराए । १० करोडभन्दा बढीको मुल्यांकन भयो ।
बैंकले निकै पेलेपछि उनले घर चक्र बहादुर भण्डारीलाई नै बेच्ने निधो गरे । चलनचल्तीको भाउ भन्दा कम मुल्य ६ करोड ४० लाख रुपैयाँमा भण्डारीलाई विक्री गर्ने सम्झौता गरे । २०७५ मंसिर १७ गते उनले लिखितम गरेरै घर किन्ने कागजातमा हस्ताक्षर गरे । भण्डारीले पियाको घर बैना बापत ५० लाख रुपैयाँ पनि दिए । घर पास गर्नुपर्ने म्याद थियो १५ दिन । तर, भण्डारीले सो अवधिमा घर पास गर्न सकेनन् । यता काजिराम पियाले बैनाबापत लिएको ५० लाख रुपैयाँ पनि बैंकलाई नै किस्ता बुझाएर सके ।
तर, यता बैंकसँगको सेटिङमा काजिरामको घर नै हत्याउने योजना बनेको भने उनले चाल पाएनन् । उनकै घर किन्ने सम्झौता गर्ने चक्र बहादुर भण्डारी र उनका छोरा गोविन्द भण्डारीले बैंकसँग हिमचिम बढाइसकेका थिए ।
‘विपक्षी गोविन्द भण्डारीका पिता चक्र बहादुर भण्डारी क्षेत्रीसँग बैना गरेपछि हामी ढुक्क भएर बसेका थियौँ । बैना लिएको रकम बैंकलाई बुझाएपछि बैंकले पनि हतार गर्दैन होला भनेर केही समय पर्खिएर बसिहाल्छ भनेर धैर्य गर्यौँ,’ काजिरामले विभिन्न निकायमा दिएको उजुरीमा भनेका छन्,‘तर बीचमा खेल अर्कै भइसकेको रहेछ । बैंकले लिलामा हाम्रो घर जग्गा चढाउने र उक्त लिलामबाट घरजग्गा विपक्षीले लिने खेल गरिएको रहेछ ।’
प्राइम बैंकले ऋणी काजिराम पियाको घर खाने नियतले नागरिक राष्ट्रिय दैनिकमा २०७६ जेठ ७ गते ३५ दिने सुचना निकाल्यो । त्यसको लगत्तै उनको असार १५ मा लिलामीको सुचना पनि निकाल्यो । असार ३० मै सेटिङको लिलाममा यसअघि काजिरामको घर किन्ने तमसुकमा हस्ताक्षेर गरेका चक्रबहादुर भण्डारीको छोरा गोविन्द भण्डारीलाई ५ करोड ११ लाख १ सय रुपैयाँमा उनको घर विक्री गरिदियो ।
‘हाम्रो घरजग्गा बैंकले भ्यालुएशन गर्दा मुल्य रु १० करोड भन्दा बढि छ । धितो सुरक्षण राख्दा प्राइम कमर्शियल बैंक आफैले तोकेको केभ कन्सलट्यान्टसले २०७१ साउन १२ गते सम्पत्ति मुल्यांकन रिपोर्टमा बजार मुल्य १० करोड २८ लाख १२ हजार २ सय ६६ रुपैयाँ राखेको छ,’ काजिरामले दायर गरेको फिरादमा भनेका छन्,‘हालको दिनमा धितो सुरक्षणमा रहेको घर जग्गाको मुल्य करिब १० देखि १५ करोड बजार मुल्य पर्नेलाई विपक्षी प्रतिवादीहरुले एक आपसमा दुषित तवरबाट केवल ५ करोड ११ लाख एक सय रुपर्याँमा लिलाम गरिएको छ ।’
बैंकले स्वयंम गरेको मुल्यांकन भन्दा थोरैमा उनको घर सेटिङका आधारमा लिलाम विक्री गरिदिएपछि उनी यतिबेला विभिन्न निकायमा धाउन थालेका छन् । तर, वर्षौंसम्म अड्डा अदालत धाएपनि काजिरामले न्याय भने पाएका छैनन् । काठमाडौंको मुटु मानिने रिङ्गरोडसँग जोडिएको माछापोखरीमा रहेको उनको भव्य महल यतिबेला भण्डारीको परिवारले रहस्यमयी रुपमा कब्जामा लिएको छ ।
कुनै पनि ऋणीको घरजग्गा लिलाम बिक्री गर्नुअघि बैंकले बैंक तथा वित्तिय संस्थाको ऋण असुली ऐन, २०५८ लाई अपनाउनुपर्ने हुन्छ । उक्त ऐनको दफा १४ (७) क मा ‘लिलाम गर्नुअघि ऋणीसँग एथेष्ठ छलफल तथा क्रियाकलाप गरेको हुुनुपर्ने’ उल्लेख छ । तर, काजिरामको घर लिलाम गर्दा ऋणीलाई थाहा समेत नदिइएको उनको आरोप छ ।
प्राइम कमर्सियल बैंकले सेटिङमा करोडौंको घर जग्गा खाइदिएपछि उनीहरुले विभिन्न निकायमा उजुरी दिएका छन् । काजिरामले काठमाडौं जिल्ला अदालतमा प्राइम बैंक, चक्रबहादुर भण्डारी र गोविन्द भण्डारी विरुद्ध दुषित लिलाम बदरको मुद्दा दायर गरेका छन् । उनले मुद्दा दायर गरेपछि जिल्ला अदालत काठमाडौंले काजिरामको घर जग्गा लिलाम गर्ने र विक्री गर्ने बैंकको धन्दामा बाधा गर्दिएको छ । २०७६ साल मंसिरमा जिल्ला अदालत काठमाडौंको आदेशले विवादित बनेको कित्ता नम्बरका घर जग्गा रोक्का राख्न आदेश दिएको छ । तर, बैंकसँगको मिलेमतोमा भण्डारी परिवारले भने काजिरामको विवादित घर भत्काउनेदेखि स्वरुप परिवर्तन गर्नेसम्मको गतिविधि गरिरहेको छ ।
पीडित काजिरामलाई गुण्डाहरु लगाएर कुटपीट समेत गरेको उनले विभिन्न निकायमा दिएको उजुरीमा उल्लेख छ । गत मंसिर २५ गते जिल्ला अदालत काठमाडौंले उनको घर नभत्काउनु, स्वरुप परिवर्तन नगर्नु र यथास्थितिमा राख्नु भन्ने आदेश दिएको छ । तर, उक्त आदेशलाई भण्डारी र प्राइम कमर्सियल बैंकले लत्याएको पीडितको आरोप छ ।
पीडित काजिराम पियाले जिल्ला अदालत काठमाडौंमा प्राइम कमर्सियल बैंकका अध्यक्ष सहित सञ्चालक समिति, चक्र बहादुर भण्डारी र गोविन्द भण्डारी विरुद्ध दायर गरेका छन् ।
दियोपोस्टले प्रतिक्रियाका लागि चक्रबहादुर भण्डारीलाई पटक पटक सम्पर्क गरेको थियो । तर, उनले फोन उठाएनन् ।