पर्यटन बोर्डको करोडौं बजेटमा सिइओ रेग्मीको मनोमानी : ‘जिआएस’ भन्दै त्रिविलाई ५ करोड !

दियो पोस्ट  

काठमाडौं, १५ माघ । कोरोना महामारीका कारण पर्यटन व्यावसाय ठप्प छ । बैंकको ऋण र घर परिवार पाल्नै समस्या भएपछि पर्यटन व्यावसायीहरु मानसिक तनावमा छन् । पर्यटन बोर्डले नेपालको पर्यटन व्यावसायको प्रचार गरिदिएला र पर्यटक भित्रिएपछि व्यावसाय चलाउँला भन्ने आस आम पर्यटक व्यावसायीको छ । तर, व्यावसायीको आशाको धरोहर पर्यटन बोर्डलाई सिइओ धनन्जय रेग्मीले मनोमानी गर्दा पर्यटन क्षेत्र नै तहसनहस हुने अवस्थामा पुगेको छ ।


बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले बोर्डको करोडौं बजेट अनुत्पादक क्षेत्रमा खन्याएको भन्दै पर्यटक व्यावसायी आक्रोशित बन्न थालेका छन् ।


बोर्डले नेपाल भ्रमणमा पर्यटकलाई आकर्षण गर्नका लागि प्रचार गर्नुको सट्टा करोडौं रकम भूगर्भ अध्ययनको नाममा छुट्याएको पाइएको छ । गुगल लगायत बहुराष्ट्रिय कम्पनीहरुले म्यापिङ गरिरहेको बेला बोर्डले डेभलपमेन्ट अफ डिजिटल डेटाबेसको नाममा ५ करोड बजेट खन्याएको हो । ‘टुरिजम बोर्डले गुगलले भन्दा भिन्न के गर्न सक्छ ? उसले बनाएको म्यापिङ गुगलको भन्दा माथिको हुन्छ र, ?’ एक पर्यटन व्यावसायी भन्छन्,‘यो बजेट खाने काइदा मात्रै हो । यसले नेपालको पर्यटनमा खासै उपलब्धी हुनेवाला छैन ।’

सिइओ रेग्मीले डेभलपमेन्ट अफ डिजिटल डेटाबेसको नाममा त्रिभुवन विश्वविद्यालय जिओलोजी डिपार्टमेन्टलाई नै छनौट गरेर ५ करोड रुपैयाँ छुट्याएका हुन् । ‘भौगोलिक सुचना प्रणाली’ जडानका लागि भन्दै बजेट छुट्याएको बोर्डको निर्णय प्रति व्यावसायीको विरोध छ ।


यता उनले डिजिटल डेटाबेसकै नाममा अर्को साँढे २ करोड रुपैयाँ छुट्याएका छन् । डिजिटल मार्केटिङ प्लेटफर्म बनाउने भन्दै आफू निकट व्यक्तिलाई उक्त कार्यको जिम्मा दिएको स्रोतले बतायो । ‘मुल रुपमा कमिशन खाने योजनामा यो सबै भएको छ,’ बोर्डकै एक सदस्यले भने,‘हामीले त रोक्न कोसिश गरेका हौँ । तर, धनन्जयजीले सचिवलाई मनाउनु भएछ ।’

बजेट बिनियोजनको छलफलमा केही सदस्यले बहिस्कार गरेपनि उनले मनोमानी रुपमा व्यावसायी दिपक महतको सेटिङमा बजेट छुट्याएको स्रोतले बतायो ।


बिनियोजित बजेटको विषयमा आज २ बजे पर्यटन बोर्डमा छलफल राखिएको छ । ‘भौगोलिक सुचना प्रणाली’ जडानको बारेमा छलफल गर्न भन्दै बोर्डले आज संवद्ध संस्थाहरुलाई बोलाएको हो ।

सिफारिस