काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन बालाजुको महाप्रबन्धक सुवाष सिटौलालाई सरकारले शाही शासनकै झल्को दिने गरि बर्खास्त गरेको छ ।
२०७५ साल माघ २५ गतेको मन्त्रिपरिषदको बैठकबाट ४ वर्षका लागि औद्योगिक क्षेत्र बालाजुको महाप्रबन्धकमा नियुक्त भएका सिटौलालाई सरकारले २ वर्ष नपुग्दै बर्खास्त गरेको हो ।
ऐन तथा नियममा ठोस कुनै कुरा उल्लेख नभएपनि सरकारले उनलाई ६५ वर्ष उमेर हद देखाउँदै बर्खास्त गरेको हो ।
गत माघ ११ गते आइतबारको मन्त्रिपरिषदको बैठकबाट उनलाई बर्खास्त गरिएको भन्दै अर्थमन्त्रालयले औद्योगीक क्षेत्रलाई पत्र काटेको छ ।
हाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्ष रहेका नन्द किशोर बस्नेतलाई नै महाप्रबन्धकको समेत जिम्मा लगाउनेगरी सेटिङमा उनलाई पदमुक्त गरेको स्रोतले जनाएको छ । यसअघि गैरकानुनी रुपमा दुवै पदमा रजाइँ गर्दै आएका बस्नेतको चौतर्फी विरोध भएपछि सरकारले महाप्रबन्धमा सिटौलालाई नियुक्त गरेको थियो ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्ष रहेर कार्य गरिरहेका बस्नेत तत्कालिन महाप्रवन्धक कल्याण रोका विरुद्ध सर्वोच्च अदालतमा परेपछि मुद्दाको अन्तिम फैसला नभएसम्मका लागि भन्दै तत्कालिन उद्योग मन्त्री महेश बस्नेतले २०७१ चैत्र ०५ गते महाप्रवन्धकको जिम्मेवारीमा समेत दिएका थिए । २०७२ असार २५ गते नै फैसला भएपनि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रवन्धकमा भने सम्हालेका थिए ।
औद्योगिक क्षेत्रमा फेरी पुरानै रोग निम्तने खतरा देखिएको छ । संसद विघटन गरेर सरकारले राम्रा मान्छेलाई हटाउने र बद्नाम मान्छेलाई पुन नियुक्ती दिन थालेको छ ।
सिटौलाले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड सुधारका लागि निकै राम्रो काम गरिरहेका थिए । उनलाई ‘औद्योगिक क्षेत्रमा अर्को कुलमानको’ रुपमा हेरिएको थियो । तर, नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङलाई देखिनसहने सरकारले सिटौलालाई समेत बर्खास्त गरेको छ ।