काठमाडौं, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजन भयो । विभाजित नेकपाको एउटा समुहको नेतृत्व ओलीले गर्दै आएका छन् । उनै ओलीले नेतृत्व गरेको समुहमा विभिन्न विवादित र ज्यान मुद्दाका अभियुक्तहरु धमाधम प्रवेश गर्न थालेका छन् ।
गत माघ १३ गते प्रधानमन्त्री निवास बालुवाटारमै ठगि अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंमा मुद्दा दर्ता भएका नुवाकोटका कमानसिंह लामा ओली समुहमा प्रवेश गरे । राप्रपाका नुवाकोटका नेता लामासहितका केही व्यक्तिलाई स्वागत गर्न ओली समुहका नेता सुवास नेम्वाङ, शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ र प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार विष्णु रिमाल नै उपस्थित थिए ।
रिमालले ओली समुहमा प्रवेशगरेका लामा सहितको समुहलाई खादा लगाइदिएको तस्विर आफ्नै फेसबुक पेज मार्फत सार्वजनिक गरेका थिए । तर, उनै लामामाथि नुवाकोटकै म्यागङ घर भएकी ४० वर्षीया धनमाया तामाङ र ३६ वर्षीय कामी लामालाई बेलायत पठाउने भन्दै उनले दुवै जनामार्फत नौ लाखभन्दा बढी रकम लामाले ठगी गरेको अभियोग थियो ।
उनीहरुलाई बेलायतमा रहेको एक होटलमा काम लगाइदिने भन्दै लामाले ठगी गरेपछि महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।
काठमाडौं प्रहरीमा पीडितले दिएको जाहेरीमा ९ लाख ५२ हजारको चेक बाउन्स भएको समेत उल्लेख छ । ‘हामीलाई विशिष्ट समूहसँग बेलायत पठाइदिने भन्दै उनले सात÷सात लाख माग गरेका थिए’, पीडित लामाले यसअघि नै मिडियासँग भनेका थिए, ‘हामीले उनलाई दुई जनाको गरी एकमुष्ट नौ लाख ५२ हजार रुपैयाँ दिएका हौं ।’
पीडितहरुका अनुसार ठग लामाले विशिष्ट समूह अर्थात् युवराज पारस शाहको साथीहरु बेलायत जान लागेका छन्, सो समूहसँगै तिमीहरुलाई पनि बेलायत पठादिन्छु’ भन्दै ठगेका थिए ।
ठगी अभियुक्त लामाले पारस शाहको भान्जाको होटलमा काम लगाइदिन्छु भन्दै ठगी गरेका थिए ।
नौ जनाको समूहलाई बेलायत पठाउन लागेको सो समूहमा दुई जना कमी रहेकोले तपाईंहरुलाई बेलायत पठाइदिने भन्दै सिंहले आफूहरुसँग सो रकम लिएको पीडितहरुको भनाइ थियो । २ वर्षअघि मंसिर २२ गते बेलायत उडाउने भन्दै लाखौं रकम लिएका सिंहले हालसम्म तामाङ र लामालाई विदेश पठाउनसकेका छैनन् भने विदेश पठाउने नाममा लिएको रकम समेत फिर्ता गरेका छैनन् ।
कमानसिंह गत वर्ष साउनको ३ गते पीडितहरुलाई रकम दिने भन्दै नेपाल इन्भेष्टमेन्ट बैंकको चेक दिए पनि बैंकमा जाँदा चेक बाउन्स भएको थियो । उनले भने, ‘लामाले ००१०१०१०३३२२५५ नम्बरको खाता भएको नौ लाख ५२ हजार रुपैयाँकै इन्भेष्टमेन्ट बैंकको चेक दिएका थिए । बैंकमा जाँदा चेक बाउन्स भयो ।’ लगत्तै सिंहलाई सम्पर्क गरे पनि हालसम्म पीडितहरुले कुनै रकम फिर्ता नपाएको उनीहरुको भनाइ छ ।
प्रहरीले उजुरी दर्ता गरेपनि हालसम्म उनलाई पक्राउ गरिएको छैन । पीडितले न्याय समेत पाएका छैनन् । यस्तो अवस्थामा उनी ओली समुहमा लागेपछि पीडितले न्याय पाउने संभावना टरेको छ ।