चामत्कारिक सिइओको सर्वोच्च अदालतमै गैरकानुनी हर्कत : डेढ अर्बको जग्गा हत्याउन यस्तो दाउ !

दियोपोस्ट संवाददाता

काठमाडौं, १७ माघ । संविधान र कानुनको अन्तिम व्याख्याता सर्वोच्च अदालत हो । तर, एउटा बैंकले भने सर्वोच्च अदालत भित्रै गैरकानुनी हर्कत गरिरहेको छ । आफूलाई चामत्कारिक सेवाको नाममा प्रचार गर्दै आएको एनआईसी एशिया बैंकले सर्वोच्चको निमावलीकै धज्जी उडाएर एउटा मुद्दामा गैरकानुनी काम गरेको पाइएको हो । चमत्कारीक खाताको प्रचार गरेर चर्चामा आएका सिइओ रोशन न्यौपानेले ऋणीको सम्पत्ति हत्याउन सर्वोच्च अदालत नियमावलीकै धज्जी उडाएको पाइएको हो ।


आफूविरुद्ध अदालतमा दायर भएको मुद्दाका कानुनी प्रतिवादका लागि २ दर्जन कानुन व्यावसायी अघिसारिएको छ । यति ठूलो संख्यामा वकिलहरुको लाइन लगाउँदा पनि मुद्दा जित्ने आत्मविश्वास गुमाएपछि एनआईसी एशिया बैंकले मुद्दाको पेशी गैरकानुनी रुपमा सारिरहेको छ ।


कानूनविपरीत धापासीस्थित २४ रोपनी ९ आना जग्गा एनआईसी एशिया बैंकले हडपेको दाबीसहित ओरियन्टल बिल्र्डसका तर्फबाट सुधीर बस्नेतले बैंकलाई विपक्षी बनाएर २७ असोज २०७४ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले आफू ब्यांकको साँवा र ब्याज बुझाउन तयार रहेको तर उक्त धितो जग्गा ब्यांकबाट खोसेर कम्पनीको नाममा यथावत दर्ता गरिदिन आदेश माग गरेका छन् । ओरियन्टल बिल्डर्सको तर्फबाट चार कानुन व्यवसायीले मुद्दा लडिरहेका छन् । तर, उनीहरुको तर्फबाट एक पटक पनि पेशी सारिएको छैन । यता बैंकको तर्फबाट बहसमा उत्रिएका २ दर्जन कानुन व्यावसायीले भने पटक पटक गरि ६ पटकसम्म पेशी सारिएको छ ।


एनआईसी एशिया बैंक विरुद्धको यो मुद्दा त्यस्तो बन्यो की जुन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित अधिकांश न्यायाधीशहरुको बेञ्चमा पुगिसकेको छ । एनआईसी एशिया तर्फका कानून व्यवसायीहरुले लगातार मुद्दाको पेसी सार्न भूमिका खेलिरहेका छन् । तर, सर्वोच्च अदालत नियमावली, २०७४ को दफा ७७ (५) ले दुई पटक स्थगित भइसकेको मुद्दाको सुनुवाई स्थगित नहुने उल्लेख गरेको छ ।


एनआईसी एशियाको हकमा यो नियमावली लागु हुन सकेको छैन । बैंकले बहसमा उतारेका वकिलहरुलाई कोरोना संक्रमणको कारण देखाउँदै गत मंसिर ९ गतेको पेशी सारेको थियो । गत पुस ७ गते तोकिएको पेशी फेरी बैंककै तर्फको कानुन व्यावसायीबाट सारिएको छ । फागुन ११ गते अर्को पेशी तोकिएको छ । स्रोतका अनुसार बैंकले यो मितिको पेशी पनि सार्नका लागि जालझेल गरिरहेको छ ।


धितो मुल्यांकनमा बैंको बद्मासी !


बस्नेत अध्यक्ष रहेको ओरियन्टल बिल्डर्स एण्ड डेभलपर्स प्रा.लीले २०६६ साल जेठमा धापासीको २४ रोपनी ९ आना जग्गा धितो राखेर एनआईसी एशिया बैंकबाट रु २० करोड ओभरड्राफ्ट कर्जा लिएका थिए । बस्नेतले उक्त जग्गामा झण्डै ३० करोड लगानीमा भौतिक संरचना निर्माण थालेका थिए । तर, कम्पनि टाट पल्टिएपछि ऋण तिर्न सकेनन् । ऋणको नियमित साँवाको किस्ता र ब्याज गरी रु. २३ करोड ६८ लाख बुझाउन नसकेसँगै बैंकले २०६९ माघमा ओरियन्टलको उक्त सबै सम्पत्ति आफ्नै नाममा सकारेको थियो ।


बैंकले २०६६ सालमा ऋण दिँदा धितोको मुल्यांकन २५ करोड ३२ लाख गरेको थियो । तर, तीन वर्ष आठ महीनापछि २०६९ साल असोज १५ मा ३१ करोड २९ लाख ५० हजार मुल्यांकन गरेको आवाससम्बन्धी जाँचबुझ आयोग, २०७१ को प्रतिवेदनमा उल्लेख छ ।

जबकि, बस्नेतले तिर्नुपर्ने कुल रकम रु. २३ करोड ६८ लाख उठाउन यो सबै सम्पत्ति हडपिएको हो । त्यतिमात्रै होइन उनले ३० करोड रुपैयाँ लगानी गरेर निर्माण गरेको भौतिक संरचनाको भने कुनै मुल्यांकन र हिसाबै नगरि हडपिएको थियो ।


५ माघ २०६९ मा नेपाल प्रहरीको महानगरीय प्रहरी वृत्त महाराजगन्जले तयार पारेको घटनास्थल मुचुल्का विवरणमा पनि यी संरचना उक्त जग्गामा रहेको उल्लेख गरिएको थियो । तर, मूल्यांकनलाई हेर्दै नहेरी कौडीको भाउमा जग्गा आफ्नो नाम ल्याएको थियो।

आवाससम्बन्धी जाँचबुझ आयोग, २०७१ ले महाराजगन्ज चक्रपथबाट २ किमीको दुरीमा पर्ने २० फिट बाटोले छोएको एकमुष्ट जग्गाको मूल्य त्यतिबेला नै करिब रु. ३६ करोड हुने अनुमान गरेको थियो । अहिलेसम्म आइपुग्दा यो जग्गा र संरचनाको कुल मूल्य सबा अर्ब देखि डेढ अर्ब रुपैयाँभन्दा माथि पुगिसकेको छ ।

सम्बन्धित खबर

सिफारिस