ललिता निवास जग्गा प्रकरणमा ३ सय जनाभन्दा बढी विरुद्ध पक्राउ पूर्जी जारी, भूमाफियाको भागभाग !

diyopost.com
दियो पोस्ट  बुधबार, पौष २१, २०७८ | ०:५७:१६

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको २ सय ९९ रोपनी सरकारी जग्गा किर्ते ठगी प्रकरणमा जिल्ला अदालत काठमाडौंले ३ सय जनाभन्दा बढीलाई पक्राउ पूर्जी जारी गरेको खुलाशा भएको छ ।

ललिता निवासको सरकारी जग्गा किर्ते ठगीमा प्रहरी अनुसन्धान केन्द्रीय ब्युरोले पक्राउ अनुमतिका लागि जिल्ला अदालत समक्ष माग गरेको थियो । ‘जिल्ला अदालतले ३ सयभन्दा बढी व्यक्ति विरुद्ध पक्राउ पूर्जी जारी गरिदिएको छ,’ जिल्ला अदालत काठमाडौं स्रोतले दियोपोस्टसँग भन्यो,‘अझै पक्राउ पूर्जी जारी हुने क्रम जारी छ । यो घटनामा समलग्न सबै चेनहरु विरुद्ध पक्राउ पुर्जी जारी हुन्छ ।’

ललिता निवास जग्गा ठगी प्रकरणमा सिआइबीले केहीदिन अघि पूर्व कर्मचारी तथा मुख्य योजनाकार भनिएका रामकुमार सुवेदी र उनकी पत्नि माधवी सुवेदीलाई पक्राउ गरेको थियो ।
सिआइबी स्रोतका अनुसार जग्गा किनबेच धन्दामा समलग्न सबैलाई सिआइबीले पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउनेछ ।

‘जिल्ला अदालतले हाल ३ सयभन्दा बढीलाई पक्राउ अनुमति दिएको छ । यो जग्गा किन्ने, बच्ने र सेटिङ मिलाउने कर्मचारीसहित उच्च तहसम्मलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउने र मुद्दा चलाउने अधिकार सिआइबीलाई छ । मन्त्रिपरिषदले दिएको अधिकार क्षेत्र भित्र रहेर हामी अनुसन्धानमा छौँ,’ सिआइबी स्रोतले भन्यो,‘पक्राउ पर्ने व्यक्तिहरुको संख्या अझै बढ्न सक्छ । अनुसन्धानकै क्रममा भएका कतिपय कुरा खुलाउन मिल्दैन ।’

ललिता निवास सरकारी जग्गा ठगी प्रकरणको छानबीन गर्न पूर्व सचिव शारदा प्रसाद त्रितालको नेतृत्वमा गठित उच्च स्तरिय छानबीन समितिले रामकुमार सुवेदी, शोभाकान्त ढकाल र मिनबहादुर गुरुङलाई भूमाफिया किटान गरिएको थियो । स्रोतका अनुसार सिआइबीले भाटभटेनीका मालिक मिनबहादुर गुरुङ लगायतका उच्च अधिकारीलाई खोजबिन शुरु गरेको छ ।

ललिता निवास जग्गा प्रकरणमा ४ सय जनाभन्दा बढीलाई मुद्दा चलाउने सिआइबीको निष्कर्श छ ।

सम्बन्धित खबर