सरकारी छाप र हस्ताक्षर कीर्ते गरी छाेकडा तस्करी गर्ने गिराेह : विमल पोद्दार र छोरा अमन पोद्दार नै संलग्न !

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेपाल सरकारले सर्वसाधारणको हित र आर्थिक सन्तुलनका लागि आयातमा पूर्ण बन्देज लगाएको वस्तुलाई सरकारी निकायको लेटरहेड, छाप र पूर्व महानिर्देशकको हस्ताक्षरसमेत कीर्ते गरेर तस्करी गर्ने एउटा ठुलो गिरोह सक्रिय रहेको पाइएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नक्कली इजाजत पत्र (अनुमति पत्र) बनाएर दुबईबाट सयौँ टन प्रतिबन्धित छोकडा (खजुर) नेपाल भित्र्याउने प्रयास काठमाडौँ जिल्ला अदालतमा दायर अभियोग पत्र र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) को छानबिनबाट खुलासा भएको हो ।

कीर्ते र तस्करीको यो जालोमा नेपालका प्रतिष्ठित आयातकर्तादेखि सीमापारका लजिस्टिक एजेन्ट र भुक्तानी व्यवस्थापन गर्ने गिरोह संलग्न रहेको भेटिएको छ ।

कसरी भयो घटनाको खुलासा?

सरकारले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ बमोजिम २०७६ साल चैत २४ गते राजपत्रमा सूचना प्रकाशित गरी छोकडा पैठारीमा पूर्ण प्रतिबन्ध लगाएको थियो । तर, काठमाडौँको कालिकास्थानमा दर्ता रहेको ‘सिमविन इन्टरनेशनल इम्पेक्स’ नामक फर्मले वीरगन्ज भन्सार कार्यालयमा एउटा सिफारिस पत्र पेस गर्‍यो ।

वाणिज्य विभागको अनुमति नं. MGDOL/RD/2082/83 उल्लेख भएको उक्त पत्रमा १०० टन छोकडा आयातको अनुमति दिइएको उल्लेख थियो । प्रतिबन्धित वस्तुको आयात अनुमति पत्र देखेपछि वीरगन्ज भन्सारका अधिकारीहरूलाई शङ्का लाग्यो । भन्सार कार्यालयले उक्त पत्रको वैधानिकता जाँच्न वाणिज्य विभागमा पठाउँदा विभागको अनलाइन प्रणाली (Nepal National Single Window – NNSW) वा कुनै पनि अभिलेखमा त्यस्तो अनुमति जारी भएको देखिएन । सरकारी छाप, लेटरहेड र हाकिमको दस्तखत नै कीर्ते भएको पुष्टि भएपछि विभागले अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) लाई पत्राचार गरेको थियो ।

२. कीर्ते योजनाका मुख्य योजनाकार र भूमिका

अनुसन्धानका क्रममा यो कीर्ते धन्दामा मुख्य गरी तीन जनाको प्रत्यक्ष संलग्नता खुलेको छ, जसमध्ये एक जना पक्राउ परेका छन् भने दुई जना फरार छन्:

  • नवीन कुमार अग्रवाल (पक्राउ): सिमविन इन्टरनेशनल इम्पेक्सका धनी हुन् । विगत २०४८ सालदेखि आयात व्यापारमा संलग्न उनले आफ्नै फर्मको नाममा दुबईको ‘Dubai Dates Factory LLC’ बाट ३०,५६६ अमेरिकी डलर बराबरको २०९४ कार्टुन छोकडा आयात गर्न नबिल बैंकमार्फत एलसी र टीटी  खोलेका थिए ।
  • प्रभात अग्रवाल (फरार/खेतान): नवीन अग्रवालको बयान र कल डिटेल रेकर्ड  अनुसार प्रभातले नै प्रतिबन्धित छोकडा आयातको सेटिङ मिलाउने र वाणिज्य विभागको अनुमति पत्र ल्याइदिने जिम्मा लिएका थिए । यसबापत उनले ५०, हजार रुपैयाँ कमिसन लिने सम्झौता गरेका थिए ।
  • विमल पोदार (फरार): भारतको जयपुर स्थायी घर भई काठमाडौँ बस्ने पोदार नवीन अग्रवालका नाता पर्ने दाई हुन् । उनले सिमविन इम्पेक्सको वित्तीय र बैंकिङ कारोबार हेर्ने गर्थे । उनकै मोबाइलबाट लजिस्टिक एजेन्ट अजय ढुङ्गानालाई उक्त कीर्ते अनुमति पत्रको स्क्यान कपी ह्वाट्सएप  मार्फत पठाइएको प्रमाण फेला परेको छ ।
  • फरार रहेका विमल पाेद्दारकाे पुत्र अमन पाेद्दार पनि याे गिराेहमा मुछिएका छन् । उनकै नामबाट कम्पनिकाे काराेबार हुने गरेकाे मुख्यअभियुक्त नविन अग्रवालकाे बयान छ ।

भन्सार एजेन्ट र ढुवानीको जालो: कसरी आइपुग्यो सामान?

दुबईबाट हिँडेको कन्टेनर भारतको बाटो हुँदै वीरगन्ज भन्सारको एकीकृत जाँच चौकी (ICP) मा आइपुगेको थियो । यसलाई नेपाल भित्र्याउन विभिन्न तहमा कागजातहरू फेरबदल गरिएको पाइयो:

  • लजिस्टिक व्यवस्थापन: विमल पोदारले काठमाडौँको सिनामंगलस्थित ‘क्लासिक फ्रेड नेपाल’ का अजय ढुङ्गानालाई सामान क्लियरिङको जिम्मा दिएका थिए ।
  • ह्वाट्सएपबाट कीर्ते कागजात प्रवाह: भन्सार एजेन्ट वसन्त कुमार चौधरीले सुख्खा बन्दरगाह चोभारमा सामान ट्रान्ससिपमेन्ट गर्न प्रज्ञापन पत्र दर्ता गर्दा वाणिज्य विभागको अनुमति पत्र थिएन । एजेन्टले डकुमेन्ट मागेपछि विमल पोदारले अजय ढुङ्गाना र अजयले वीरगन्जका ट्रान्सपोर्टर अजित श्रीवास्तवमार्फत एजेन्ट चौधरीलाई सो कीर्ते पत्र मोबाइलमा पठाएका थिए ।
  • क्वारेन्टाइनको बदमासी: प्लान्ट क्वारेन्टाइन कार्यालयको अनुमति बिना नै सामान चोभार पुर्‍याएर मात्रै जाँच गराउने भन्दै सुरुमा वीरगन्ज क्वारेन्टाइनमा सामानको स्याम्पल नै पेस नगरिएको एजेन्ट चौधरीको बयानबाट खुल्छ । पछि क्वारेन्टाइनले नियम उल्लङ्घन भएको भन्दै प्रवेश अनुमति नै रद्द गरिदिएको थियो ।

अवकाशप्राप्त विशिष्ट कर्मचारीको नाम दुरुपयोग

कीर्ते पत्रमा वाणिज्य विभागका पूर्व महानिर्देशक कुमार प्रसाद दाहालको नाम र हस्ताक्षर प्रयोग गरिएको थियो । बयानका क्रममा पूर्व महानिर्देशक दाहालले सो पत्रमा भएको हस्ताक्षर आफ्नो नभएको र आफू सोही मिति (२०८२/०४/२८) मा राष्ट्रिय समावेशी आयोगमा सरुवा भइसकेको खुलाएका छन् । आफू हटेकै दिनको मिति राखेर कीर्ते हस्ताक्षर गरिएको थाहा पाएपछि उनले पहिले नै मिडियामार्फत यसबारे सार्वजनिक सूचना जारी गरेका थिए ।

अभियुक्तको आपराधिक पृष्ठभूमि र कानुनी मागदाबी

सरकारी अनुसन्धानबाट फरार प्रतिवादी विमल पोदार पुराना आर्थिक अपराधी भएको खुलेको छ । पोदार यसअघि पनि नेपाल राष्ट्र बैंक ऐन अन्तर्गतको कसूर (विदेशी विनिमय वा बैंकिङ क्षेत्र सम्बन्धी मुद्दा) मा काठमाडौँ जिल्ला अदालतबाट १ वर्ष कैद र १० लाख रुपैयाँ जरिवानाको सजाय पाइसकेका व्यक्ति हुन् ।

सरकारी वकिल कार्यालयले पक्राउ परेका नवीन कुमार अग्रवाल र फरार दुई जना विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ बमोजिम ‘लिखत सम्बन्धी कसूर’ (कीर्ते) मा मुद्दा दायर गरेको छ । सरकारी कागजात कीर्ते गरेको ठहर भएमा अभियुक्तहरूलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ । साथै, पुराना अपराधी विमल पोदारको हकमा ‘कसूर दोहोर्‍याएको’ आधारमा दफा ४४ (२) बमोजिम दोब्बर सजायको माग गरिएको छ ।

 

सिफारिस