‘राज्य दोहनमा’ मुरारका : चुनढुंगामा आधा अर्ब घोटाला, विजुलीकै बिल १ अर्ब २६ करोड तिरेनन् !

diyopost.com
दियो पोस्ट  शुक्रबार, माघ १४, २०७८ | २२:२९:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष हुन् पशुपति मुरारका । उनै मुरारका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार आधा एक अर्ब २४ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । त्यसमध्ये करिब आधा अर्ब रुपैयाँ घोटालामा मुरारका समलग्न छन् । अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोग पत्रानुसार मुरारकाको स्वामित्व रहेको सिद्धार्थ मिनिरल्सले स्विकृत माइनिङ स्किमभन्दा बढी चुनढुंगा उत्खनन् गरेको अभियोगमा ४९ करोड ४५ लाख ५१ हजार ६ सय ४५ रुपैयाँ राजश्व नबुझाई मिलेमतोमा भ्रष्टाचार गरेका थिए ।

खानी विभागका महानिर्देशक राम प्रसाद घिमिरेसहितको कर्मचारीको मिलेमतोमा भएको यो घोटाला विभागकै इतिहासमा ठूलो हो ।

यसरी राज्यलाई खुलमखुल्ला लुटिरहेका उद्योगपति मुरारकाले राज्यले आफूहरुलाई झूटो आरोप लगाएको बताइरहेका छन् । त्यसो त यसअघि तत्कालिन विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्लेसँग मिलेर सर्वसाधरणलाई लोडसेडिङमा राखी आफ्नो उद्योगमा २४ सै घण्टा विद्युत पुर्याएका उनी अर्घाखाँची सिमेन्टका मालिक हुन् ।

उनको सिमेन्ट उद्योगले अतिरिक्त शुल्क तिर्छु भन्दै सर्वसाधरण १८ घण्टा अध्यारोमा रहँदा उनले डेडिकेटेड ट्रंकलाइन मार्फत २४ घण्टासम्म विद्युत लिएका थिए । तर, त्यस्तो सुविधा लिएबापत विद्युत प्राधिकरण्लाई बुझाउनुपर्ने एक अर्ब २६ करोड रुपैयाँभन्दा बढी रकम उनले हालसम्म पनि बुझाएका छैनन् । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रकम उठाउन ताकेता गरेपछि मुरारकाकै नेतृत्वमा घिसिङको चर्को विरोध गरिएको थियो । उनले विध्युत प्राधिकरणलाई उक्त रकम नबुझाउने खुलमखुल्ला घोषणा गर्दै आएका छन् । सर्वसाधरणले २/४ सय रुपैयाँ नबुझाउँदा विद्युतको लाइन नै काट्ने प्राधिकरणले मुरारकाले अर्बौं नतिर्दा पनि विद्युत भने उपलब्ध गराइरहेको छ ।

विद्युत प्राधिकरणका सञ्चालक सदस्य भक्तबहादुर पुन नेतृत्वको उच्चस्तरिय समितिको सिफारिस अनुसार मुरारकाले विद्युत प्राधिकरणलाई डेडिकेटेड ट्रंकलाइन जडान बापत १ अर्ब २६ करोड ११ लाख रुपैयाँ भन्दा बढी बुझाउन अस्विकार गर्दै आएका छन् ।

अख्तियारले मंगलबार उनीसहित ९ जना व्यापारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि व्यापारीहरु फेरी अख्तियारकै विरोधमा उत्रिएका छन् । तर, घोटालामा समलग्न रहेका मास्टर डिजाइनर राम प्रसाद घिमिरे भने चुपचाप छन् । मुरारकाकै नेतृत्वमा व्यापारीहरुले विरोध गर्न थालेका छन् ।

शुक्रबार नै एक पत्रिकामा मुरारकाले अख्तियारले दायर गरेको मुद्दा कानुन विपरित र निराधार रहेको आरोप लगाएका छन् । आयोगले ९ उद्योग र ९ जना कर्मचारी विरुद्ध एक अर्ब २४ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको अभियोग मुद्दा दायर गरेको थियो ।

सोही मुद्दालाई लिएर मुरारकाले आफूहरुले एक लाख रुपैयाँ जरिवाना तिरिसकेको बताएका छन् । उनले विद्युत प्राधिकरणलाई तिर्नुपर्ने एक अर्ब २६ करोड र चुनढुंगा उत्खनन् गरेबापतको जरिवाना ४९ करोड रुपैयाँ गरेर जम्मा राज्यलाई १ अर्ब ७५ करोड रुपैयाँ भन्दा बढी ठगि गरेको पुष्टि भएको छ ।

सम्बन्धित खबर