बचतकर्ताद्वारा देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईंको घर घेराउ

दियो पोस्ट  

काठमाडौं । बचतकर्ताहरुले ललितपुरको देउराली बहुउद्देशीय सहकारी संस्थाका सञ्चालक रविन्द्र चौलागाईंको घर घेरेका छन् । पटक–पटकको प्रतिवद्धता अनुसार बचत रकम फिर्ता नगरेको भन्दै उनीहरु चौलागाईंको घर घेर्न पुगेका हुन् । सञ्चालक चौलागाईंले बचतरकम फिर्ता गर्ने समय पटक पटक टारेपछि आफूहरु बाध्य भएर उनको घर घेर्न जानुपरेको सहकारीका बचतकर्ता आकाश रिमाल बताउँछन् । सहकारीले गत कात्तिकमा नै साना बचतकर्तालाई क्रमिक रुपले निक्षेप फिर्ता गर्ने र ठूला बचतकर्तालाई नवलपरासीमा रहेको जग्गा नै पास गरिदिने बताएको थियो ।

२० कात्तिकमा सहकारीले एक विज्ञप्ति जारी गर्दै सहकारीका बचतकर्ता समितिका संयोजक केदारप्रसाद चौलागाईं र सोही समितिका सदस्य कृष्णप्रसाद कँडेल, जीवन श्रेष्ठ र नकुलप्रसाद आचार्यको संयुक्त नाममा दर्ता गरिएको गृहम विर्ल्डस एण्ड कन्सल्ट्यान्सको नाममा नवलपरासीको ४ बिघा १९ कठ्ठा जग्गा पास गरिदिएको बताएको थियो । सहकारीले विज्ञप्तिमा सबै बचतकर्ताको रकम सुरक्षित होस् भनि जग्गा पास गर्ने समय भन्दा अगाडि रविन्द्र चौलागाईंले बचतकर्ताहरुलाई बचतकर्ता प्रतिनिधि कमिटीको रोहबरमा बचत संरक्षण बापत चेक समेत दिएको उल्लेख गरेको थियो ।

तर, १८ माघसम्म पनि सहकारीका बचतकर्ताले बचत रकम फिर्ता नपाएको भन्दै सहकारीका अध्यक्ष चौलागाईंको घर घेर्न पुगेका हुन् ।