रास्वपा सरकारमा फर्किने सम्भावना कति ?

दियो पोस्ट  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले अब रास्वपा तत्काल सरकारमा फर्किने सम्भावना नरहेको बताएका छन् । ‘फर्किने भएको भए हामी छाड्ने नै थिएनौँ । लामो छलफलपछि यो निर्णयमा पुगेका हौँ, तर सरकारलाई समर्थन कायमै हुन्छ,’ उनले भने ।

४२ दिनको सत्तायात्राले पार्टीलाई धेरै शिक्षा दिएको उनको भनाइ छ । ‘यहाँ केही गर्न खोज्दा, बेथिति र विकृतिविरुद्ध लड्न खोज्दा कसरी नयाँ दललाई घेराबन्दीमा पारिँदो रहेछ, हामीले शिक्षा पायौँ,’ उनले भने, ‘सभापतिले पत्रकार सम्मेलनमार्फत पनि यसका विभिन्न आयामको भन्डाफोर गरिदिनुभयो ।’

मिडियाको पारदर्शितामाथि पनि हामीले प्रश्न उठाएका छौँ । यो सबै शिक्षाबाट भोलिका दिनमा फेरि सरकारमा आउँदा अब हामी परिपक्व भएर आउनेछौँ ।’ सरकारबाट बाहिरिएसँगै रास्वपा अब संगठन विस्तारमा केन्द्रित हुने योजनामा छ ।

महामन्त्री ढकालले अब पार्टीको प्रमुख कदम देशभर संगठन विस्तार नै रहेको बताए । त्यसपछि चितवन २ मा समयमै उपनिर्वाचन गराउन दबाब दिने र सभापति लामिछानेलाई पुनः सांसद जिताएर संसद्मा ल्याउने तयारी रहेको उनले बताए ।