जुम्ला । जुम्लामा आगलागीबाट एकजनाको मृत्यु भएको छ । जिल्लाको चन्दनाथ नगरपालिका–१ का लोक बहादुर भण्डारीको घरमा गएराति भएको आगलागीमा परी उनकी छोरी १६ वर्षीया बन्दना भण्डारीको घटनास्थलमै मृत्यु भएको हो । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
यस्तै, इलामाको देउमाई नगरपालिका–९ जितपुर सरदार गाउँ बस्ने चन्द्रपाल लिम्बुको घरमा सोमबार राति आगलागी हुँदा घरभित्र रहेको सरसामान जलेर करिब २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यता, कञ्चनपुरको बेदकोट नगरपालिका–३ भम्का सिद्वनाथ टोल बस्ने ३५ वर्षीय आनन्द सिंह धामीको २ वटा कुखुरा फर्म र बाख्राको खोरमा विद्युतको तार सर्ट भई गएराति आगलागी हुँदा खोरभित्र रहेका ७ सय ५० वटा ब्रोईलर कुखुरा, ३ वटा खसी, ५ वटा बाख्रा र सरसामान समेत गरी करिब ११ लाख ८ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएक छ ।
यसैगरी सुनसरीको गढी गाउँपालिका–२ औराबनीमा रहेको सिजी ग्रुप चाउचाउ फ्याक्ट्रीमा विद्युत सर्ट भई गएराति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।