काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आरोपित गरेका पत्रकारमध्येका एक दिलभूषण पाठकले प्रतिक्रिया जनाएका छन् । आफूले व्यवसायिक जीवनमा कहिल्यै कसैलाई गाली वा अपमान नगरेको उनको दाबी छ ।
सामाजिक सञ्जालमा एउटा नोट राख्दै उनले आफ्नो पत्रकारितालाई लिएर आजसम्म कुनै पनि निकायमा एउटा पनि उजुरी वा मुद्दा नपरेको बताएका छन् ।
‘सत्यता नभएको र गलत सूचना प्रवाह गरेको एउटा पनि घटना भए देखाउन चुनौती दिन्छु’, उनले भनेका छन् । लामिछानेले आफूमाथि लगाएका आरोप सार्वजनिक रुपमा स्पष्ट पार्नुको साटो विषयान्तर गरेर अरुको मानमर्दन गरेको पाठकको भनाइ छ ।
तपाईंले कुनै वेला न्यूज २४ मा काम गर्दा वा ग्यालेक्सी टीभी सुरु गर्दा मेरो पछाडि भीडमात्र छ, तर तपाईंसँग आधिकारिता छ, बौद्धिकता छ, सामाजिक प्रतिष्ठा र व्यवसायिक कुशलता छ भनेर घरमै आएर प्रशंसा गर्दै प्रधानसम्पादक भएर समाचारको नेतृत्व गर्न आग्रह गर्नुभएको होइन ? म आफ्नो काममा पोखरा जाँदा मलाई भेटेर कन्भिन्स गर्न खोजेको होइन? आज अचानक के आधारमा तपाईंले मलाई पापी भन्नुभयो ?’, उनले सोधेका छन् ।