साथीको नामको फेसबुक आइडी बनाएर ठगी, नयाँबस्तीबाट पक्राउ

दियो पोस्ट  

काठमाडौं । साथीको फेक फेसबुक आइडी बनाएर दुरूपयोग गरेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुनसरी घर भई काठमाडौंको नयाँ बस्ती बस्ने २० वर्षीया युनिसा भन्ने स्वस्तिका श्रेष्ठलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको कार्यालयका प्रवक्ता एवं एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

उनले फेसबुक, इन्स्ट्राग्राम जस्ता सामाजिक संजालहरुको दुरुपयोग गरी अष्ट्रेलियामा रहेकी केटी साथीको नाममा फेक फेसबुक एकाउन्ट खोली पीडितको फोटो, स्टाटस अपलोड गरी केटा साथीहरुलाई म्यासेन्जर मार्फत विभिन्न बहानामा आफ्नो बैंक तथा ईसेवा वालेटहरुमा रकम पठाउन लगाई ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर विद्युतिय कारोवार कसूर अन्तर्गत आवश्यक अनुसन्धान एवं कारवाहीको लागि नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाहिटि काठमाडौं पठाइएको छ ।

उनीविरूद्ध अष्ट्रेलियामा रहेकी साथीले नै उजुरी गरेकी हुन्।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार पक्राउ परेकी युवती पनि अष्ट्रेलिया जाने तरखरमा थिइन्।