काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी बिरोध प्रदर्शन गर्ने भएको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टीको केन्द्रिय समिति बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता खड्गबहादुर विश्वकर्माले आगामी फागुन ५ र १५ गते चर्को महंगीका बिरुद्धमा देशव्यापी बिरोध गर्ने बताए। उनले पार्टीले दलाल पुँजीवादी सत्ताको विकल्प वैकल्पिक समाजवादी सत्ता भन्ने राजनीतिक नारालाई मुख्य बनाउने निर्णय गरेको पनि बताए।
उनले पार्टीले संसदमा रहेका र नरहेका विभिन्न कम्युनिष्ट पार्टी साथै राजनीतिक दलबीच रूपान्तरणका मुद्दामा बहस गर्दै जाने निर्णय लिएको बताए।
उनले आगामी दिनमा राष्ट्रिय स्वाधिनता, जनताका राजनीतिक एवं आर्थिक अधिकार र जनजीविकाका क्षेत्रमा संघर्ष गर्ने निर्णय गरेको बताए।
उनले पार्टीले एमसीसी, एनसीएल, एसपीपी, अग्निपथ, माथिल्लो कर्णाली, अरुण तेस्रो, महाकाली अतिक्रमणका बिरुद्ध संघर्ष गर्ने पनि बताए।
उनले अगाडि भने, ‘फागुन ५ गते मिटरब्याज, बैंकको चर्को ब्याजदर र लघुवित्तका बिरुद्ध र फागुन १५ गते चर्को महंगीका बिरुद्ध देशव्यापी बिरोध प्रदर्शन गर्नेछ।’
उनले सरकारसँग पार्टीले गरेको ३ बुँदे सहमति अनुसार एकीकृत जनक्रान्तिका कारण जेलमा रहेका नेताहरु रिहा हुनुपर्ने माग गरेको बताए।
‘३ बुँदे सहमति अनुसार एकीकृत जनक्रान्तिका सम्पूर्ण कमरेडहरु मुक्त हुनुपर्नेमा हालसम्म पनि ४० जना कमरेडहरु विभिन्न जेलहरुमा हुनुहुन्छ । राज्यले सहमति गरेअनुसार अविलम्व बन्दी कमरेडहरु मुक्त गर्नुपर्छ । साथै मुद्दाहरु खारेज गरिनुपर्छ,’ उनल भने।