मुख्यमन्त्रीले विश्वासको मत लिने आज अन्तिम दिन, नागरिक उन्मुक्तिको अडान कायमै

दियो पोस्ट  

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो । उनले आज अन्तिम दिन पनि विश्वासको मत लिने प्रयास गरिरहेका छन् ।

हिजो दिउसो १ बजे विश्वासको मत लिने गरी संसद् बैठक आह्वान गरिएको थियो । तर, काठमाडौँमा रहेका नागरिक उन्मुक्तिका सांसद कैलाली नआएपछि बैठक आज दिउसो १ बजे सम्मका लागि स्थगित गरिएको थियो ।

पुस २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले माघ २७ अघि नै विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुरूप रावलले आज विश्वासको मत लिन लागेका हुन् ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । अहिले सम्म एमाले, माओवादी र राप्रपाको मत पाउने निश्चित भएपनि सत्ता गठबन्धनमै रहेको नागरिक उन्मुक्तिले भने मत नदिने सङ्केत गरेको छ । उनीहरूले आफ्नो माग र मुद्दा सम्बोधन नभएसम्म विश्वासको मत दिन नसकिने अडान कायमै राखेका छन् ।

नागरिक उन्मुक्तिका ७ सांसदले विश्वासको मत नदिए मुख्यमन्त्रीले विश्वासको मत पाउन सक्ने छैनन् । नागरिक उन्मुक्तिका सबै सांसद अहिले काठमाडौँमा छन् । उनीहरू आजको प्रदेश सभा बैठकमा सहभागी हुने वा नहुने भन्नेमा पनि निश्चित नरहेको बताइन्छ ।