यसरी सुरु भएको थियो बालाजुमा यातायात मजदुर आन्दोलन !

दियो पोस्ट  

काठमाडौं । गत माघ १७ गते यातायात मजदुर संगठनहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दशबुँदे माग बुझाएका थिए । त्यसबारे २९ माघमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघ गरेर तीनवटै संगठनहरू नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक केन्द्रीय महासंघसहितका सरोकारवालहरूसहित छलफल भएको थियो ।

छलफलका निष्कर्ष सार्वजनिक गर्ने र ३ फागुनमा देशव्यापी आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्ने पूर्वानिर्धारित कार्यक्रमअनुसार गंगबुस्थित नयाँ बसपार्कमा भेला भएका वेला नयाँ बसपार्कका ठेकेदार कम्पनी लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनील कुँवर, लोत्सकै कर्मचारीहरू पंकज मल्ल, हिमाल कुँवरलगायत अपरिचित ३० जनाको समूहले आक्रमण गरेपछि यातायात मजदुरहरु आन्दोलित भएका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले भने, ‘हाम्रा १० बुँदे मागहरू थिए । त्यसलाई सार्वजनिक गर्ने कार्यक्रम थियो। तर कम्पनीका महाप्रबन्धक सुनिल कुँवर लगायत अपरिचित व्यक्तिहरुको समूहले हातपात गरेपछि हामीले आन्दोलन ग¥यौं ।’

ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलनरत बालाजु क्षेत्रका यातायात मजदुरले प्रहरीको भ्यानमा आगजनी समेत गरेका छन् । योसँगै उनीहरुले भोलिदेखि अनिश्चितकालका लागि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात बन्दको घोषणा गरेका छन् ।
उनीहरूका अनुसार आक्रमणबाट दर्जनौँ मजदुरहरू घाइते भएका छन् ।