‘धनी र गरिबले पढ्ने स्कुल फरक छ, पाउने शिक्षा फरक छ’

दियो पोस्ट  

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले शिक्षा नीतिमा समस्या रहेको औँल्याएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद भण्डारीले शिक्षा नीतिमा सुधार गरेर व्यवहारिक र रोजगारमूलक शिक्षाको व्यवस्था गर्नुपर्ने बताए ।

नेपालमा धनी र गरिबले पाउने शिक्षा अलग–अलग रहेको भन्दै उनले सरकार निरीह बन्दा शिक्षा, स्वास्थ्य र नागरिकको सरोकारका हरेक क्षेत्रमा माफिया र बिचौलियाको बिगबिगी रहेको बताए । ‘हामीले बनाएको शिक्षा दुई थरीको छ, धनीले निजी स्कुल पढ्छ, गरिबले सरकारी स्कुल पढ्छ, धनी र गरिबले पढ्ने स्कुल फरक छ, पाउने शिक्षा फरक छ,’ सांसद भण्डारीले भने ।

विश्वमा यस्तो व्यवस्था अन्त कहाँ छ भन्दै सांसद भण्डारीले प्रश्न उठाए । उनले भने, ‘हामीले शिक्षा नीतिलाई व्यवहारिक र रोजगारमूलक किन नबनाउने ? पाठ्यक्रमलाई व्यवहारिक र हाम्रो स्रोत साधनसँग जोडेर किन लागू नगर्ने ?’ उनको प्रश्न छ, ‘धेरै पहिले बनाएको बुढानीलकण्ठ स्कुल, जहाँ गरिब र धनीको वर्ग विभाजन छैन । त्यो स्कुललाई हामीले किन देशभरि फैलाउन सकेनौँ,’ उनले प्रश्न गर्दै भने, ‘हामी जोसँग पैसा छ, उसैसँग लाग्यौँ । जो गरिब छ, उसका लागि राम्रो शिक्षा छैन, केही पनि छैन ।’