
काठमाडौं । काठमाडौंको बबरमहलस्थित बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट विचौलिया आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सेवा लिन आउने सेवाग्राहीहरुलाई काम छिटो छरितो गरी दिन्छु भन्दै रकम असुलि गर्ने गरेको सूचनाका आधारमा ३ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा उदयपुर ताप्लिङ गाउँपालिका घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका बस्ने ५१ वर्षीय क्षेत्र बहादुर खड्का, रामेछापको रामेछाप नगरपालिका–९ घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका बस्ने ३४ वर्षीय राज लामा र उदयपुर ताप्लिङ गाउँपालिका–५ घर भई भक्तपुर मधयपुर ठिमी नगरपालिका बस्ने २९ वर्षीय निरज बुढाथोकी रहेका छन् ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त सिंहदरबारबाट खटिएका प्रहरीले सोधपुछ गर्ने क्रममा प्रहरी कर्मचारीसँग विवाद तथा हो–हल्ला गरी अशान्ति सिर्जना गरे पछि उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरू उपर अभद्र व्यवहार गर्न नहुने सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान भइरहेको छ ।