दुई सय घर परिवारलाई त्रास देखाएर थाँक्रेमा अवैध ढुंगाखानीको आतंक : प्रशासन मौन !

जोखिममा बस्ती

दियो पोस्ट  

काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका–७ लामिडाँडाका राधाकृष्ण थापा उमेरले ४० पुगे । उनको काँधमा ४ जनाको पालन पोषण गर्नुपर्ने जिम्मेवारी छ । परिवार पाल्नैका लागि उनी खाडी मुलुक आउजाउ गरिरहन्थे तर अहिले घर छाडेर हिँड्न सकेका छैनन् ।

पछिल्लो समय राधाकृष्ण आफ्नै घर भासिने हो कि भन्ने डरले दिन रात चिन्तामा छन् । कारण हो थाँक्रे गाउँपालिका–७ मा रहेको कुमारी माता ढुङ्गा खानी । अवैध रूपमा सञ्चालनमा आएको सो ढुंगा खानीले राधाकृष्णको घर भन्दा तल ब्रेकर चलाएर खन्न थालेपछि उनी आफ्नो घर भासिने चिन्तामा छन् ।

घर भासिने चिन्ताले राधाकृष्णलाई हिजोआज आफ्नो परिवारलाई के खुवाऊँ भन्ने चिन्ताले समेत पिरोल्न थालेको छ । खानाको लागि उत्पादन गर्ने खेतबारीमा नै उब्जनी गर्न नपाएपछि उनी थप पिडामा छन् ।

‘घरदेखि तलपट्टि ढुङ्गा खानीको मेसिन चल्दा मेरो मन निकै रुन्छ, घर चुहिएर बसेको छ, तर निमुखाको कसले सुन्दिने ?,’ राधाकृष्णले दियोपोस्टसँग भने,‘घर आज भत्किने हो कि भोलि भत्किने हो भन्नेमा छ, ढुङ्गा भत्किएपछि कहाँ जाने के गर्ने ?’ ढुंगाखानीले बस्ती उठाउनका लागि मुआब्जा दिने आश्वास दिएको छ । तर, आफू जन्मे हुर्केको थातथलो छाडेर जाने पक्षमा उनी छैनन् । ‘पुस्तौँ भयो यो ठाउँमा बस्न थालेको अब छोडेर कहाँ जाने ?’ उनले थपे ।

राधाकृष्णकै घरमाथि पट्टि छ ३१ वर्षीय हरि पौडेलको घर । उनको परिवारमा १२ जना छन् । उनी पनि राधाकृष्णकै जस्तै समस्याले छटपटिएका छन् । आफ्नो परिवारलाई कसरी जोगाउने र के खुवाउने भन्ने चिन्ताले पिरोलिएका पौडेलपनि आफ्नो घर कहिले भासिन्छ भनेर कुरेर बसेका छन् ।

‘प्रकृती दोहन गर्न पाइन्छ ? निमुखाको घर उजाडेर धन्दा चलाउन पाइन्छ ? यदि पाइन्छ भने यस्तो विकास चाहिँदैन,’ पौडेलले दियोपोस्टसँग भने,‘मेरो घर उजाडियो भने त्यसको जिम्मेवारी कसले लिन्छ राज्यले कि ढुंगा खानीले ?’ खानीका कारण घर भासिने चिन्तामा पौडेल विभिन्न निकायको शरण्मा पुग्दै आएका छन् ।

उमेरले ६३ पुगेका कृष्ण बहादुर प्रजा पनि ढुंगाखानीका कारण चिन्तित बनेका छन् । ‘मेरो जग्गामा धेरै ढुङ्गा छ, त्यसकारण उनीहरूले मेरो जग्गामा उत्खनन गर्न खोजेका छन् तर मैले नदिएपछि उनीहरूले मेरो परिवारमाथि नै गलत निर्णय लिन खोजेका छन्,’ कृष्णले दियोपोस्टसँग भने,‘मेरो जग्गाको ढुङ्गा निकाल्नको लागि अनेकन उपाए अपनाएका छन् तर गाउँलाई नै क्षति हुने भएका कारण म मेरो जग्गा दिन्न भनेर बसेको छु ।’

२० जनाको परिवार रहेका प्रजाको परिवारमा पछिल्लो समय सुरक्षा चुनौती थपिएको छ । जग्गाको ढुङ्गा निकाल्न नदिएपछि प्रजाको परिवारमा सुरक्षामा समेत खतरा रहेको उनले बताए । ‘ढुंगाखानीका सञ्चालक मनोज सिग्देलले आफूसँग पावर भएको भन्दै स्थानीयलाई धम्काएका छन्’ प्रजाले भने,‘मान्छे मारे पनि केस मिलाउन सकिन्छ भन्ने हल्ला फैल्याएर मेरो परिवारलाई अप्रत्यक्ष रूपमा धम्की दिइरहेका छन्, मैले जग्गा दिएँ भने गाउँ नै भासिन्छ, तर म जग्गा दिन्न ।’

धादिङको थाँक्रे गाउँपालिका–७ का थापा, पौडेल र प्रजा मात्रै होइन यो क्षेत्रका सबै परिवार अहिले ढुंगादखानीका कारण त्रासको जिवन बाँची रहेका छन् । सात किलो देखि लामिडाँडासम्म अवैध रूपमा उत्खनन गर्दै आएको कुमारी माता ढुङ्गा खानीका कारण दुई सय घर परिवार भएको बस्ती नै जोखिममा परेको छ ।

यसअघि दियोपोस्टले नै समाचार प्रकाशन गरेपछि बन्द भएको सो ढुंगाखानि पुनः अवैध रूपमा सञ्चालनमा आएसँगै स्थानीयहरू त्रासमा छन् । उक्त खानि पुनः सञ्चालनमा आएको हो ।

कुमारी माता ढुंगा खानि विं.सं २०६० सालमा राजु खड्कीले सञ्चालन गरेका थिए । स्थानीयलाई समस्या पर्ने भएपछि खड्कीले ७२ सालमा सो खानि बन्द गरे । खड्कीले छोडेपछि लामो समय बन्द रहेको सो खानी मनोज सिग्देलको नेतृत्वमा २०७४ सालबाट सञ्चालनमा आयो ।

खानी सन्चालक मनोज सिग्देल

मनोज सिग्देलसँगै नेकपा एमालेका नेता कृष्णप्रसाद पन्तसमेत सो खानि सञ्चालनमा संलग्न थिए । तर, पन्त भने आफ्नो संलग्नता अस्विकार गर्छन् ।

सञ्चालनमा आएसँगै सो खानीले घर बस्तीमा मात्रै त्रास फैल्याएको छैन । त्यसले वातावरणमा समेत ठूलो क्षति पुर्याएको छ । सार्वजनिक बाटो, खानेपानीको मुहान, कुलो, सार्वजनिक खोला लगायत क्षतविक्षत बताएको छ ।

पटक पटक निवेदन, बेखबर प्रशासन

बस्ती नै जोखिममा पर्ने भएपछि स्थानीय बासिन्दाहरूले गाउँपालिका कार्यालयमा ३ पटक सम्म सुनुवाइको लागि निवेदन दिएका छन् तर गाउँपालिका कार्यालयले कुनै चासो देखाएका छैनन् । ‘गाउँपालिकामा मात्रै ३ पटक निवेदन दिएका छौ तर अहिलेसम्म सुनुवाइ भएको छैन,’ ३६ वर्षीय उद्धव थापाले भने, ‘इलाका प्रहरी कार्यालयमा उजुरी हाल्न गयौ तर दर्ता नै भएन , न्याय माग्न कता जाने ?’

त्रासमा रहेका स्थानीयहरूले निवेदन दिए पनि सम्बन्धित निकाय भने बेखबर रहेको देखिन्छ । जिल्ला प्रशासन कार्यालय धादिङ भने यो विषयमा बेखबर छ । त्यो विषयमा पहिले बुझ्नु पर्ने जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामहरि शर्माले दियोपास्टलाई बताए । ‘स्थानीयको समस्या के हो बुझ्छौ, त्यसपछि समाधान तर्फ जान्छौ ।’ सहायक सिडिओ शर्माले भने, ‘प्रहरीको सहयोगमा बुझ्छु ।’

उक्त घटनाबारे जानकार रहेका थाँक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य र उपाध्यक्ष यन्त्र बहादुर थापा दुवै जनालाई सम्पर्क गर्दा सम्पर्कमा आएनन् ।

याे पनि :

एमाले नेताले चलाएको अवैध ढुंगा खानीले धादिङको थाँक्रेमा बस्ती नै जोखिममा, धान खेत भाँसियो !