काठमाडौं । क्यानडा पठाइदिन्छु भन्दै नगद १९ लाख ९० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–३ घर भई काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस्ने २९ वर्षीय लक्ष्मण थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थापाले पीडितलाई वैदेशिक रोजगारीको लागि क्यानडा जानको लागि २३ लाख रुपैयाँ लाग्छ र त्यहाँ पुगेपछि मासिक ३ लाख रुपैयाँ हुने काममा लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी उक्त रूपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागको पत्राचारको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बानेश्वरबाट उनलाई पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर बुझाइएको छ ।
साथै कम्बोडिया पठाइदिन्छु भन्दै नगद १२ लाख रुपैयाँ ठगी गरेको आरोपमा अर्का एकजना व्यक्ति पनि पक्राउ परेका छन् । दैलेख भगवतीमाई गाउँपालिका–२ घर भई काठमाडौं नयाँ बसपार्क बस्ने २३ वर्षीय तोपेन्द्र सिंहलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि कम्बोडियामा मासिक १ लाख ३० हजार रूपैयाँ तलबमा क्यासिनोको सेक्युरिटी गार्डको काम लगाई दिने प्रलोभनमा पारी पीडितहरूबाट पटक–पटक गरी उक्त रुपैयाँ ठगी गरेको उजुरीको आधारमा उनलाई काठमाडौं
उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं गोंगबु बिजिमहलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु
काठमाडौंमा पठाइएको छ ।