प्रदेशलाई सुविधासम्पन्न बनाउन राष्ट्रपति भण्डारीको जोड

दियो पोस्ट  

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीयताको संस्थागत विकासमा जोड दिएकी छन् । मंगलबार हेटौंडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै भण्डारीले संघीयताको अवधारणाअनुसार देशकै सातवटै प्रदेशलाई सुविधासम्पन्न बनाउनुपर्नेमा जोड दिएकी हुन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित अस्पतालले हेटौंडा र आसपासका क्षेत्रका बिरामीको सेवा र गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादनमा विशेष पहलकदमी आवश्यक रहेको बताइन् ।

‘संविधानले व्यवस्था गरेको नागरिकहरुको मौलिक हकअन्तर्गतको गुणस्तरिय स्वास्थ्य सेवाको प्राप्तिमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सघाउ पुर्‍याउने विश्वास लिएको छु,’ उनले रोग नलाग्नुमात्र स्वास्थ नभएको बताइन् ।

‘जनस्वास्थ्य कार्यक्रमलाई योजनावद्ध ढंगले नागरिकको घरदैलोमा पुर्‍याउन आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई स्थापित गर्न र स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न प्रतिष्ठानको ठूलो भूमिका रहन्छ,’ राष्ट्रपति भण्डारीले शारीरिक र मानसिक रुपमा तन्दुरुस्त एवं सकारात्मक रहन सक्नु वास्तविक अर्थमा स्वस्थ भएको बताइन् ।

उनले जनस्वास्थको उच्चतम लक्ष्य हासिल गर्न, नागरिकको घर दैलोमा सामान्य औषधि तथा आधुनिक प्रविधियुक्त विशेषज्ञ सेवा उपलब्ध गराउन आवश्यक रहेको औंल्याइन् । ‘गुणस्तरीय स्वास्थ्य सेवालाई नागरिकको घर दैलोमा पुर्‍याउनु राज्यको महत्त्वपूर्ण दायित्व हो । स्वस्थ व्यक्तिबाट मात्र स्वस्थ समाज, सुदृढ अर्थतन्त्र विकास, स्वाधीन आत्मनिर्भर र सवल राष्ट्रको निर्माण हुन सक्छ भन्ने यथार्थलाई कार्य रुप दिन संविधानले मौलिक अधिकारको रुपमा स्थापित गरेको हो,’ उनले भनिन् ।