आगामी २५ मा हुन गइरहेको राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यलयले बुधबार मतदाता नामावाली सार्वजनिक गरेको छ। राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) तथा ७ वटै प्रदेश सभाका सदस्यहरु मतदाता रहने संवैधानिक व्यवस्था छ। जसअनुसार संघीय संसद्का ३३४ र प्रदेश संसद्का ५५० जना सदस्य मतादाताको रुपमा कायम भएका छन्। प्रतिनिधि र राष्ट्रिय सभामा कायम हुने कुल ३३४ सदस्य संख्यामध्ये ३ जना नाम मतदाताको नामावलीबाट हटेको छ। जसमा नगरिकता प्रकरणबाट पद मुक्त भएका रवि लामिछाने, भ्रष्टाचार मुद्दाको अभियुक्त भएपछि निलम्बनमा परेका नेपाली कांग्रेसका टेक बहादुर गुरुङ र एक फौजदारी मुद्दाका कारण निलम्बनमा परेका लक्ष्मण चौधरीको नाम मतदाता नामावलीमा छैन। तर चौधरीले भने प्रजातन्त्र दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट माफी पाइसकेका छन्।
प्रहरीको फरार सूचीमा रहेका सांसद लक्ष्मी महतो कोइरीको भने मतदाता नामावलीमा नाम समावेश भएको छ। कोइरी महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन्। उनीविरुद्ध मधेस आन्दोलनका क्रममा एम्बुलेन्समा रहेका बिरामीलाई थुतेर हत्या गरेको आरोप छ। यता, निर्वाचन आयोगले भने सांसद कोइरी निलम्बनमा नपरेकोले मतदाता नामावालीमा नाम रहेको बताएको छ।