पूर्वप्रधानमन्त्रीहरूलाई राष्ट्रपति बनाउनु हुन्नः महामन्त्री शर्मा

दियो पोस्ट  

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्रीहरूलाई राष्ट्रपतिको उम्मेदवार बनाउन नहुने बताएका छन् ।प्रतिनिधिसभाको बुधबारको बैठकपछि संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्रीहरूलाई राष्ट्रपतिको उम्मेदवार बनाउन नहुने अभिव्यक्ति दिएका हुन् । पूर्वप्रधानमन्त्रीहरूलाई राष्ट्रपति बन्ने आकांक्षा नराख्न पनि उनले अनुरोध गरेका छन् ।

महामन्त्री शर्माले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने उनको भनाइ थियो ।

‘मैले शेरबहादुर देउवालाई राष्ट्रपति बनाउँ भनेको हो । तर फेरि म साथीहरूको छलफलबाट के कुरामा सहमत छु भने देशको प्रधानमन्त्री भइसकेर, कार्यकारी अधिकारलाई प्रयोग गरीसकेका कुनैपनि पूर्वप्रधानमन्त्रीहरूले राष्ट्रपति बन्ने आकांक्षातर्फ जानु, अझ उहाँहरूलाई अगाडि सार्नु त्यति उचित नहोला भन्ने साथीभाइहरूको भावनासँग म एकदम सहमत छु,’ उनले भने, ‘त्यसकारणले चाहे शेरबहादुर देउवा, चाहे माधवकुमार नेपाल, चाहे बाबुराम भट्टराई उहाँहरूले कार्यकारी अधिकार प्रयोग गरिसकेर देशको प्रधानमन्त्रीको नेतृत्व गरिरहनुभएको छ । त्यसकारण उहाँहरू समेतको सहभागिता र समर्थनमा रामचन्द्र पौडेल वा अन्य नेताहरूलाई अगाडि सारेर जानु बढी उचित हुन्छ ।’

कार्यकारी प्रमुख भइसकेका नेतालाई आलंकारिक राष्ट्रपतिको उम्मेदवार बनाउन नहुने महामन्त्री शर्माको भनाई छ ।