ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाका वरिष्ठ नेता राजन कुमार दाहालले पार्टीबाट राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचनमा मोलुङ गाउँपालिकाको अध्यक्षमा प्रत्यासी समेत रहेका दाहालले जिल्ला सभापति चरम गुटबन्दीमा लागेर पार्टी र संगठन ध्वस्त बनाएको आरोप लगाउँदै राजीनामा दिएका हुन् । दाहालले राजीनामा दिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको जनाएका छन् ।
उनले नेपाली कांग्रेसका कयौं कार्यकर्तालाई अन्याय भएको भन्दै पार्टीभित्र ४० वर्षसम्म आफूले गरेको योगदानको कुनै प्रतिफल नआएको असन्तुष्टि व्यक्त गरेका छन् । उनले संगठनभित्रका केही नेताको व्यक्तिगत स्वार्थका कारण आफूले पार्टी परित्याग गर्न बाध्य भएको बताएका छन् । उनी पूर्व कृर्षीमन्त्री होमनाथ दाहालका स्वकीय सचिव समेत रहेका थिए ।