नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ आखलढुंगाको ९औं अधिवेशन, यी हुन् आकांक्षी

- युवराज पहाडी  

ओखलढुंगा । नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ ओखलढुंगाको ९औं अधिवेशन यही फागुन २० र २१ गते हुने भएको छ । उक्त अधिवेशनको तयारीमा संघ तथा जिल्लाका नेताहरु आफू निकट समूहहरु बनाउन व्यस्त देखिएका छन् । जिल्ला अध्यक्षका लागि रमेश अधिकारी, खिलाराज श्रेष्ठ र हालका अध्यक्ष नरायण प्रसाद बास्तोलाको आकांक्षा रहेको छ । त्यस्तै उपाध्यक्षमा तारानाथ पहाडी, मोहन कुमार कार्कीको सम्भावाना छ भने, सचिवमा शान्ति प्रसाद पराजुली र रामजी दाहाल रहेका छन् । यद्यपी सचिवमा विष्णु पराजुलीको समेत आकांक्षा रहेको छ । यदि अध्यक्ष,उपाध्यक्ष र सचिव सहमतिका साथ चयन भए पराजुली अर्थ (सचिव)मा रहने छन् । जिल्लाका पछिल्ला गतिविधिलाई हेर्दा अध्यक्षमा रमेश अधिकारीको पक्षमा अधिकांश शिक्षक रहेको एक शिक्षकले बताए । उता महाजित राई सर्वसहमतिमा नेतृत्व चयन हुन नसके आफूले पनि अध्यक्ष पदमा उम्मेदवार दिने बताउँदै सहमतिका साथ नेतृत्व चयन भए आफू जुनसुकै पदमा रहेर काम गर्ने प्रतिपद्धता व्यक्त गरे ।

पार्टीको जिल्ला नेतृत्व पनि सकेसम्म सहमतिका साथ नेतृत्व चयन गर्ने प्रयासमा रहेको छ । हालका अध्यक्ष बास्तोला र उपाध्यक्ष श्रेष्ठको व्यवस्थापन कसरी गर्ने भन्ने गहन छलफल समेत भएको स्रोतको दाबी छ । यसअघिको कार्यकालमा शिक्षक हकहितका लागि कुनै पनि ठोस कार्यक्रम नगरिएको र शैक्षिक सुधारमा कुनै पनि प्रयासहरु नभएका कारण देखाउँदै अधिकांश शिक्षक प्रतिनिधिले अबको नेतृत्व चलायमान हुनु पर्ने मागसमेत गरेका छन् ।