नुवाकोट । नेपाली काँग्रेस निर्माण व्यवसायीसँग घुस माग्दै गरेको अडिओ सावर्जनिक भएका बेलकोटगढी नगरपालिकाका उपप्रमुखको बचाउमा उत्रिएको छ । शुक्रबार कांग्रेस बेलकोटगढीले एक विज्ञप्ति जारी गरी जनप्रतिनिधि र राजनीतिक दलको बदनाम गर्न खोजिएको भन्दै उपप्रमुख शिवप्रसाद दाहालको बचाउमा उत्रिएको हो ।
यसअघि नगरपालिकाका उपप्रमुख दाहालले काम सम्पन्न भएबापत ठेकेदारसँग कमिसन मागेको अडिओसहित दियो पोष्टले समाचार प्रकाशित गरेको थियो । कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्माण व्यवसायीले बेलकोटगढी नगरपालिकाभित्र निर्माणसम्बन्धी काम गर्ने क्रमममा उपप्रमुख लगायत कुनै पनि जनप्रतिनिधि वा अन्य कसैबाट घुस कमिसन तथा कुनै प्रकारको रकम माग नभएको र यो घटना नगरपालिका, जनप्रधिनिधिसम्बद्ध राजनीतिक दलको बदनाम गर्ने दुरासयबाट प्रेरित भएको आशंका बढेको छ ।’ कांग्रेसले उपमेयर दाहालले घुस, कमिसनका नाममा रकम माग नगरेको दाबी गरेको छ ।
स्थानीय निर्वाचनमा उपप्रमुख दाहाल नेपाली कांग्रेसबाट निर्वाचित भएको हुन् । फोन कुराकानीको अडिओमा नगरपालिकाका उप–प्रमुख शिवप्रसाद दाहाल र एक निर्माण व्यवसायीसँग सम्पन्न भएका योजनाको भुक्तानीमा कमिसन मागेको प्रस्ट बुझिन्छ ।
अडिओमा उपप्रमुख दाहालले सबैजसो योजनाको भुक्तानीको कमिसनका लागि ताकेता गरेका छन् । दाहालले जुन व्यवसायीसाँग डिल गरेका छन् उनलाई त अहिले कमिसन नदिए भोलिका दिनमा भुक्तानीका लागि हस्ताक्षर नै नगर्ने चेतावनी समेत दिएको अडियोमा सुन्न सकिन्छ । ती निर्माण व्यवसायीसँग उपप्रमुख दाहालले आश गरेर आफ्नोपछि लाग्नेहरु र पार्टीका लागि समेत आफूले योगदान गर्नुपर्ने भन्दै कमिसन मागेका थिए ।
यसअघि दाहालको सार्वजनिक अडियोका विषयमा नेकपा माओवादी बेलकोटगढीले भने एक विज्ञप्ति जारी गर्दै उपप्रमुख, नगरपालिका र पालिका निर्वाचनमा गठबन्धन गरेका दलहरूसँग जवाफ मागेको थियो । यद्यपी त्यसको जवाफ भने दाहालले दिएका छैनन् । दाहालले आफूले कुनै प्रकारको कमिसन नमागेको दाबी गर्दै आएका छन् ।
यो पनि
ठेकेदारसँग कमिसन माग्दै बेलकोटगढी नगरपालिकाका उपमेयर दाहाल (अडिओसहित)