जघन्य अपराधका अभियुक्त आशिष शेरचन पक्राउ परेर डिएसपीको निर्देशनमा भगाइए !

प्रहरीको साथ पाएका अभियुक्त

दियो पोस्ट  

काठमाडौं । जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी कसुरमा फरार रहेका राजधानी दैनिकका मालिक आशिष शेरचन प्रहरीकै मिलेमतोमा पक्राउ पर्नबाट जोगिएका छन्।

८ महिनादेखि प्रहरीले फरार सूचीमा राखेर खोजतलास गरिरहेकोमा  शेरचन बुधबार (हिजो) त्रिपुरेश्वरस्थित ब्लुबर्ड साउदी मेडिकल सेन्टरमा रहेको प्रहरीले सूचना पाएको थियो।

सूचनाको आधारमा प्रहरी वृत्त सिंहदरबारको टोली ब्लुबर्ड पुगेको थियो। वृत्तका डिएसपी चक्रबहादुर शाहीले शेरचनलाई पक्राउ गर्न हवलदारको नेतृत्त्वमा सिभिलमा प्रहरी खटाएको थियो।

सूचना अनुसार नै  टोलीले शेरचनलाई भेटेको थियो। उनलाई भेटेपछि पक्राउ गर्न गएको टोलीले आफ्नो परिचय दिँदै शेरचनलाई प्रहरी वृत्त जान भनेका थिए। लगत्तै प्रहरीले नियन्त्रणमा लिएपछि शेरचनले विभिन्न व्यक्तिहरूलाई फोन गरेका ती प्रहरीले बताए।

‘हामी २ बजेतिर त्यहाँ पुगेका थियौं । सम्बन्धित व्यक्ति (आशिष शेरचन) त्यहीँ हुनुहुँदो रहेछ। हामीले हाम्रो परिचय दियौं र प्रहरी कार्यालय जान भन्यौं,’ पक्राउ गर्न गएका एक प्रहरीले दियोपोस्टसँग भने, ‘ त्यसो भनेपछि उहाँले फोन घुमाउन थाल्नुभयो।’

त्यसपछि पक्राउ गर्न गएको टोली अभियुक्तलाई भेटेर पनि रित्तै फर्किएको थियो। कारण डिएसपी शाहीले शेरचनलाई तत्काल पक्राउ नगर्न निर्देशन दिएका थिए।

‘उहाँले अहिले पर्दैन छोडिदिनू भनेपछि हामी फर्कियौं,’ पक्राउ गर्न गएका एक प्रहरीले दियोपोस्टसँग भने।

 हामीले यसबारेमा डिएसपी शाहीलाई प्रश्न गर्‍यौं – फरार अभियुक्तलाई भेट्दा किन पक्राउ नगर्न भन्नुभयो ? जवाफमा डिएसपी शाहीले यसबारेमा आफूले  केही भन्न नमिल्ने बताए। जबकी उनकै निर्देशनमा शेरचनलाई प्रहरीले छोडेको थियो।

‘मलाई होइन परिसरमा सोध्नुहोला,’ उनले भने।

हामीले अर्को प्रश्न गर्‍यौं-  पक्राउ नगर्न  निर्देशन दिएको तपाईंले हो कि होइन ?

जवाफमा डिएसपी शाहीले आफू यसबारेमा लामो कुरा गर्न नचाहेको बताए।

‘यसबारेमा लामो कुरा नगरौं । के सोध्नुपर्ने हो परिसरलाई नै सोध्नुहोला, ‘ उनले भने।

यसबारेमा बुझ्न हामीले परिसरका प्रमुख भूपेन्द्र खत्रीलाई सम्पर्क गर्‍यौं। उनले अहिले आफू व्यस्त भएकाले पछि कुरा गर्ने बताएर फोन राखे।

यसरी ८ महिनादेखि फरार अभियुक्तको सूचीमा रहेका व्यक्तिलाई प्रहरीले आफ्नै अगाडि भेट्दासमेत पक्राउ नगरी रित्तै हात फर्किएको हो।

शेरचन यसरी नै आफ्नो पहुँचको दुरूपयोग गर्दै पटकपटक पक्राउ हुनबाट जोगिएका छन्।

एक महिनाअघि धुलिखेल रिसोर्टमा राजधानी दैनिकले आयोजना गरेको कार्यक्रममा शेरचन खुलेआम रमाइलो गर्दै गरेको तस्बिर दियोपोस्टले सार्वजनिक गरेको थियो।

यसबाट उनलाई जोगाउन प्रहरीको संयन्त्र नै लागेको प्रमाणीत हुन्छ । होइन भने ८/८‍ महिनादेखि प्रहरीको आँखाबाट शेरचन कसरी जोगिए भन्ने गम्भीर प्रश्न प्रहरी संगठनको अघिल्तिर पहाड बनेर उभिएको छ।

जातीय विभेदलाई संविधानले जघन्य अपराध भनेको छ। तर यस्ता मुद्दाहरूमा प्रहरी कति संवेदनशील र तदारूकताका साथ काम गर्छ भन्ने कुरा पनि आशिष शेरचनलाई नियन्त्रणमा लिएर पनि प्रहरीले पक्राउ नगरी स-सम्मान छोडेको कुराले पुष्टि गर्छ।

यसबारे प्रहरी जबाफ प्रहरीले दिन सक्नुपर्छ।  उनी काठमाडौंमै रहेर पनि पक्राउ नपर्नुले  प्रहरीकै कुशलता र कार्यक्षमतामाथि पनि प्रश्न चिह्न खडा गर्छ।

शेरचनविरूद्ध असार १२ गते प्रहरी परिसर काठमाडौंमा ज्यान मार्ने कसुर र जातीय विभेदमा किटानी जाहेरी दर्ता भएको थियो। त्यतिबेला परिसरमा दानबहादुर कार्की प्रमुख थिए। किटानी जाहेरी परेपछि उनीविरूद्ध प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएको थियो।

परिसरले जाहेरीको अनुसन्धानका लागि गौशला प्रहरी वृत्तलाई जिम्मेवारी दिएको थियो। गौशला प्रहरी वृत्तले अनुसन्धान गरेर पुस ८ गते जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

प्रतिवेदनमा आशिष शेरचनले मुलुकी अपराध संहिता २०७४ को दफा १६६ (१ ) बमोजिम कसुर गरेको हुँदा उनलाई सोही संहिताको दफा १६६ को उपदफा २ बमोजिम सजायको मागदाबी गरिएको थियो।

प्रहरीकै अनुसन्धान प्रतिवेदन अनुसारको मागदाबी गर्दै जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

शेरचन पक्राउ नपरेकै कारण जिल्ला अदालतमा मुद्दा दर्ता भएपनि पेशी तोकिएको छैन।