सुनसरीबाट १ करोड ८२ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद

दियो पोस्ट डेस्क  

सुनसरी । सुनसरीको इनरुवाबाट प्रहरीले १ करोड ८२ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको छ । नेपाली १ हजार दरका नक्कली नोटहरू बरामद गरेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए ।

इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट बीआर ११ एक्स ३४२९ नम्बरको स्कारपियो गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा आइतबार नोटहरू बरामद गरिएको हो । पक्राउ पर्नेमा स्कारपियो चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयद रहेका छन् भने स्कारपियोमै सवार रहेका अर्का व्यक्ति फरार छन् ।

रेग्मीका अनुसार बरामद भएको रकम, स्कारपियो र चालकलाई नियन्त्रणमा लिएर विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको छ ।