रुपन्देही । पश्चिम नवलपरासीको सुस्ताको गाउँमा हजुरबुवा र नातीको हत्या भएको छ । सुस्ता गाउँपालिका–३ मर्चहवा बस्ने ६५ वर्षीय यक्षलाल चमार र उनका नाति ११ वर्षका गौचरण चमारको घरमा सुतिरहेकै अवस्थामा हत्या भएको हो ।
उनीहरूको शरीरमा धारिलो हतियार प्रहार गरी हत्या गरेको पाइएकाले अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रेशम बोहोराले जानकारी दिए ।
मृतक यक्षलालका एक छोरा, बुहारी र तीन जना नातिनातिना थिए । छोरा कामका लागि भारत गएपछि डेढ महिना अगाडि बुहारी एक जना नातिलाई छाडेर दुई वटा बच्चा लिएर माइती गएको स्थानीयले बताएका छन् ।
मृतक नाति र हजुरबुबा एकान्त ठाउँमा रहेको एक कच्ची घरमा बस्दै आएका थिए । अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक काजीकुमार आचार्यको नेतृत्वमा तालिमप्राप्त कुकुरसहित प्रहरी टोली घटनास्थलमा पुगेको र अनुसन्धानको काम भइरहेको छ ।