काठमाडौं । नेपाल घुम्न आउने पदयात्री पर्यटकलाई हिमाली क्षेत्रमा हुने उद्दारको नाममा भइरहेको फेक रेस्क्यु र फर्जी विमा दाबी तथा ठगीधन्दाबारे केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ ।
केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)ले आइतबार (२५ माघ)मा पक्राउ गरेको लाजिम्पाटस्थित श्रीद्धि अस्पतालका मालिक डा. गिर्वाणराज तिमिल्सिनासहित यसअघि पक्राउ परेका ६ जना अभियुक्तलाई संगठित अपराध कसुरमा समेत जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गर्न अनुमति पाएको छ ।
ट्रेकिङ कम्पनि, रेस्क्यु कम्पनि, हेलिकोप्टर कम्पनि, अस्पताल, गाइड, हिमाली क्षेत्रका होटल र विदेशी पर्यटक समेतको मिलेमतोमा फर्जी उद्दार र विमा ठगी हुँदै आएको छ ।
यसैबीच यो धन्दामा संलग्न एक कम्पनिले शंकाष्पद विमा दाबी गर्ने गरेको अर्को तथ्य पनि भेटिएको छ । काठमाडौंको ठमेलमा कार्यालय रहेको अल्पाइन रेस्क्यु नामक कम्पनिको अर्को कागजात पनि प्राप्त भएको छ । कम्पनिले काभ्रेको नामोबुद्दबाट हेलिकोप्टरमा उद्दार गरिएको भन्दै दुई जर्मन नागरिकको उद्दारबापत १७ हजार ६ सय अमेरिकी डलर दाबी गरेको कागजात प्राप्त भएको हो ।

नमोवुद्ध क्षेत्रमा हेलिकोप्टर मार्फत २ पर्यटकको उद्दार बापत यतिका रकम दाबी गरिएको कागजात भेटिएको हो । काठमाडौंबाट नमोवुद्धसम्मको हेलिकोप्टर शुल्क नै १५ हजार अमेरिकी डलर दाबी गरिएको छ । त्यस्तै उद्दारकर्ताका लागि २१ सय डलर र मिसन ह्याण्डलिङ चार्ज भन्दै अर्को ५ सय डलर दाबी गरिएको छ । २४ अप्रिल २०२५ मा जारी गरिएको ईन्भोइसमा जर्मनी नागरकिलाई उद्दार गरिएको दाबी छ ।
यो उद्दारबारे अल्पाइन रेस्क्युका मालिक प्रकाशचन्द्र लोहोनीलाई प्रतिक्रियाका लागि सम्पर्क गर्दा उनले शुरुमा पहिरोमा फसेको जर्मनी नागरिकलाई उद्दार गरेको बताए । यद्धपी वास्तविक विवरण भने आफूले बुझेर मात्रै भन्न सक्ने बताए ।
‘यो पहिरोमा फसेकाहरु मान्छेहरुलाई लङ लाइन रेस्क्यु गरेर ल्याएको केस हो । यो प्रारम्भिक ईन्भोस बिल हो । यो फाइनल बिल होइन । तर, म यो विषयमा मेरो एकाउन्टसँग बुझेर मात्रै भन्न सक्छु,’ उनले शुरुमा भनेका थिए ।
यसअघि देशबाहिर रहेको बताउँदै आएका प्रकाशले आफू नेपालमा आएपछि भने सुचना जहाँबाट पाउनु भयो त्यहीँबाट लिनुहोला भन्दै जवाफ दिनबाट भागे । उनले आफ्नो कारोबारबारे सम्पूर्ण कागजात सीआइबीमा रहेको भन्दै सीआइबीबाटै लिनुहोला भन्दै आफूमाथि समेत सीआइबीले छानबीन गरिरहेको पुष्टि गरे ।
सीआइबीले फेक रेस्क्यु धन्दा गरेको अभियोगमा माउन्टेन रेस्क्यु सर्भिस प्रा.लीका प्रमुख जयराम रिमाल, सोही कम्पनिका म्यानेजर विवेक पाण्डे, एभरेष्ट एक्सपेरियन्स एण्ड एसिस्टेन्सका सेयर धनी तथा नेपाल चार्टर सर्भिसका मालिक मुक्ति पाण्डे, नेपाल चार्टर सर्भिसका अध्यक्ष रविन्द्र अधिकारी, विवेक थपलियालाई गत माघ ११ गते पक्राउ गरेको थियो ।