महोत्तरी, १६ फागुन । सरसफाइको दृष्टिकोणबाट निकै कमजोर देखिएको महोत्तरीको बर्दिबास नगरपालिका–२ मा रहेको मुसहर बस्तीका बालबालिकाले आफ्नै बस्तीबाटै ‘सरसफाइ सप्ताह अभियान’ सुरु गरेका छन् ।
धुर्मुस–सुन्तली सरसफाइ अभियान अन्तर्गत मुसहर बस्तीमा गठित नवयुग बाल क्लबका बालबालिकाले हात हातमा कुचो लिएर गाउँघर र सार्वजनिक सडक सरसफाइ गरेका हुन् । युवा पत्रकार तथा सामाजिक अभियानकर्मी राजकरण महतोको पहलमा मुसहर बस्ती सरसफाइ गरी सफासुग्घर बनाइएको हो । महतो मुसहर बस्तीलाई नमुना बनाउन निरन्तर लागिपर्नुभएको छ । एकाबिहानै हातमा कोदालो बोकेर खेत खेतमा मुसाको दुलो खोज्दै हिँड्ने उनीहरु अचेल आफ्नो गाउँघरको सरसफाइका बारेमा जिम्मेवार बन्दै गइरहेको नवयुग बाल क्लबका अध्यक्ष अञ्जली सदाले बताउनुभयो ।
शनिबार बस्तीका बालबालिका एकाबिहानै उठेर बस्तीको सरसफाइमा जुटेपछि स्थानीयवासी चकित भएको मुसहर बस्तीमा ट्युसन पढाउने मञ्जय सदाले बताउनुभयो । उहाँले भन्नुभयो, “सरसफाइ र शिक्षाबाट पछिल्लो समय बलियो बन्दै गएपछि मुसहर बस्तीलाई छिमेकीले हेर्ने दृष्टिकोणमा परिवर्तन भएको छ ।” बर्दिबास नगरपालिकाले मुसहर बस्तीको विकासका लागि विशेष कार्यक्रम ल्याउने तयारी गरिरहेको कार्यकारी अधिकृत रामकुमार कार्कीले बताउनुभयो । शिक्षाको ज्योतिबाट पछि परेका मुसहर समुदायका बालबालिका अहिले आफ्नै गाउँमा मञ्जयले चलाएको ट्युसन कक्षामा पढ्दै आएका छन् । करिब ६० शिशुलाई मञ्जयले पढाउने गर्नुभएको छ ।
मुसहर बस्तीमा सबैभन्दा बढी पढ्नुभएका मञ्जयलाई धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे)ले पुरस्कृत गरेपछि मञ्जयले आफ्नो बस्तीका बालबालिकालाई निःशुल्क ट्युसन पढाउँदै आउनुभएको छ । छोराछोरीलाई पढाउनुपर्छ भन्ने कुरामा धुर्मुस र सुन्तलीले मुसहर समुदायका अभिभावकको आँखा खोलिदिएको बस्तीकी मानकी सदाले बताउनुभयो ।