
काठमाडौँ, फागुन ११ । स्वीस कम्पनिका एजेन्ट विजय प्रकाश मिश्रासँग सेक्युरिटी प्रेस खरिदमा ७० करोड रुपैयाँ कमिशनको डिल गरेको अडियो रेकर्ड बाहिरिएसँगै सञ्चारमन्त्री गोकुल बाँस्कोटाको पदच्युत भयो । उनै बाँस्कोटाले सेटिङका आधारमा नेपाल टेलिकममा जुनियर अधिकृत डिल्लीराम अधिकारीलाई प्रबन्ध निर्देशकमा नियुक्त गरे । १० औँ तहका कर्मचारी रहेका अधिकारीभन्दा सिनियर गोकर्ण सिटौला र प्रदीप उपाध्याय समेतलाई पछि पार्दै बाँस्कोटाले आफ्ना आदेश पालक अधिकारीलाई ल्याएका थिए । फलस्वरुप नेपाल टेलिकममा करिब १५ अर्ब घोटाला हुनेगरी फोरजी सेवा विस्तारको आर्थिक अपराध भयो ।
त्यति मात्रै होइन नेपाल टेलिकमको नेतृत्वमा डिल्ली अधिकारी आएपछि टेलिकमले लगातार घाटा ब्यहोर्दै आएको पाइएको छ । उनको कार्यकालमा नेपाल टेलिकमले निकै घाटा ब्यहोर्नुपरेको कम्पनीको बार्षिक प्रतिवेदनमा देख्न सकिन्छ ।

नेपाल टेलिकमको आर्थिक बर्ष २०७१÷०७२ पछिको हालसम्मको रेकर्ड हेर्दा यस आर्थिक बर्ष २०७५÷०७६ मा कम्पनीको नाफामा निकै ठुलो रकमले गिरावट भएको देखिन्छ । यही अनुसार नै कम्पनी अगाडी बढ्दै जाने हो भने केही समयमा नै नेपाल टेलिकम टाट पल्टिन सक्ने विज्ञहरुको भनाई छ ।
आर्थिक बर्ष २०७१÷०७२ मा नेपाल टेलिकमले १४ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । अर्को बर्ष अर्थात् आर्थिक बर्ष २०७२÷०७३ मा नाफा केही घटेर १३ अर्ब ५५ करोड रुपैयाँमा झरेको थियो । नाफा घटेपछि केही सुधार गरेर आर्थिक बर्ष २०७३÷०७४ मा टेलिकमले १५ अर्ब ३७ करोड नाफा पुर्याएको थियो । लगत्तै आर्थिक बर्ष २०७४÷०७५ मा टेलिकमको खुद नाफा १७ अर्ब ४८ करोड रहेको देखिन्छ । यसरी हेर्दा दुई आर्थिक बर्षको अन्तरालमा नेपाल टेलिकमले ४ अर्ब नाफा बढाएको थियो ।
जब टेलिकमको प्रबन्ध निर्देशकको रुपमा डिल्ली अधिकारी आए तब कम्पनीको नाफा करिब ५० प्रतिशत भन्दा तल पुग्यो । अघिल्लो बर्ष १७ अर्ब ४८ करोड नाफा गरेको टेलिकमले आर्थिक बर्ष २०७५÷०७६ मा ९ अर्ब ७६ करोड मात्रै खुद नाफामा झर्यो । यसमा अघिल्लो बर्षको तुलनामा सो आर्थिक बर्षमा ७ अर्ब ७२ करोड रुपैयाँ घाटा लागेको देखिन्छ ।

कुल आय र संचालन आयमा गिरावट
नेपाल टेलिकमको बार्षिक प्रतिवेदन अनुसार यस बर्ष कम्पनीको कुल आय र संचालन आयमा समेत गिरावट आएको छ । आर्थिक बर्ष २०७१÷०७२ देखि पाँच बर्षको प्रगती विवरण हेर्दा बढ्दै गएको कुल आय र संचालन आय डिल्ली अधिकारीले नेतृत्व सम्हालेपछि भने अस्वभाविक रुपमा घटेको देखिन्छ । आर्थिक बर्ष २०७१÷०७२ मा ३९ अर्ब २५ करोड संचालन आय रहकोमा आर्थिक बर्ष २०७४÷०७५ मा ३९ अर्ब २ करोड पुगेको थियो । तर, आर्थिक बर्ष २०७५÷०७६ संचालन आय घटेर ३६ अर्ब ८७ करोड पुगेको छ ।
त्यस्तै टेलिकमको कुल आय पनि आर्थिक बर्ष २०७४÷०७५ को तुलनामा करिब २ अर्ब घटेको देखिन्छ । आर्थिक बर्ष २०७४÷०७५ मा ४५ अर्ब २७ करोड कुल आय संकलन गरेको टेलिकमले आर्थिक बर्ष २०७५÷०७६ मा ४३ अर्ब ८४ करोडमात्र आम्दानी गरेको देखिएको छ ।
प्रतिशेयर आम्दानीमा झण्डै ५० प्रतिशतको गिरावट
डिल्ली अधिकारी टेलिकमको प्रवन्ध निर्देशक भएपछि निरन्तर बढिरहेको प्रतिशेयर आम्दानी समेत घटेको छ । आर्थिक बर्ष २०७१÷०७२ मा ९७ रुपैयाँ ४ पैसा प्रतिशेयर आम्दानी हुँदा आर्थिक बर्ष २०७४÷०७५ सम्म आइपग्दा १ सय १६ रुपैयाँ ५६ पैसा पुगेको थियो । आर्थिक बर्ष २०७५÷०७६ मा प्रतिशेयर आम्दानी ५१ रुपैयाँले घटेर ६५ रुपैयाँ ५ पैसामा झरेको प्रगती बिवरणमा स्पष्ट देख्न सकिन्छ ।

‘कमिशनको खेल’ को कारण धरापमा टेलिकम
सरकारी स्वामित्वमा रहेको दुरसंचार प्रदायक कम्पनी नेपाल टेलिकम नीतिगत भ्रष्टाचारको भुमरीमा परेको कारण नै धरापमा पुगेको हो । तात्कालिन संचार मन्त्री गोकुल प्रसाद बाँस्कोटा र टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारीले नेपालमा ‘फोर जी’ भित्र्याउने भन्दै अर्बौ रुपैयाँ चलखेल गरेपछि टेलिकम घाटामा गएको हो ।
त्यसैको प्रभावका कारण पनि टेलिकम आगामी वर्ष झनै घाटामा जाने टेलिकम कै कर्मचारी बताउँछन् ।

आफु अनुकुलका कम्पनीहरुलाई पर्ने मुल्य भन्दा बढी रकममा ठेक्का दिएर अरबौँ रुपैयाँ घोेटाला गरेकै कारण टेलिकम टाट पल्टिने अवस्थामा पुगेको टेलिकमकै एक उच्च कर्मचारीले बताए ।
फोरजी घोटाला के थियो
यो पढ्नुहोस् ।
को हुन् डिल्ली अधिकारी

नेपाल टेलिकमको दशौँ तहको व्यवस्थापकका रुपमा कार्यरत डिल्ली अधिकारी गत बर्ष अर्थात २०७५ को पुष महिनामा प्रवन्ध निर्देशक भएका हुन् । त्यसअघि ब्याकबोन डिपार्टमेन्टमा काम गरेका उनलाई २०७५ को भदौ महिनामा प्रवन्ध निर्देशकको कार्यलयमा सरुवा गरिएको थियो ।
तात्कालिन संचारमन्त्री गोकुल बाँस्कोलाई लिएर अधिकारी टेलिकमको प्रबन्ध निर्देशक हुनुअघि दुबई गएका थिए । दुबईमै डिल्लीरामको पद पक्कापक्की भएको थियो ।