झापा, २० माघ । झापाका व्यावसायी गुणराज थापाका कारण स्थानियबासी आन्दोलित भएका छन् ।
कमल गाउँपालिका १ रतनचौनबासीले आफ्नो गाउँमा ईटा भट्टा खोल्न लागेको भन्दै आन्दोलनको घोषणा गरेका हुन् । रतनचौन टोल विकास समितिले पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय वासिन्दाहरूले ईटा भट्टाको बिरुद्धमा ज्यानको बलिदान दिन तयार रहेको बताएका छन् ।
भेलामा वडाध्यक्ष देखि स्थानीय बुढापाका, महिला,वालबालिका सहितको सहभागिता रहेको थियो । उनीहरुले ईटा भट्टाले मानव स्वास्थ्यमा गम्भीर असर पु¥याउने भन्दै मानव बस्तीको बीचमा ईटाभट्टा खोल्न दिनु दिनु आफ्नै हत्या गर्नु सरह भएको बताएका छन् ।
कमल १ का वडाध्यक्ष केदार कट्वालले उद्योग स्थापनाका विषयमा वडा कार्यालयमा कुनै सूचना नआएको बताए ।
उनले प्रदुषण युक्त उद्योगको विरुद्धमा स्थानीय बासिन्दालाई आफ्नो साथ सहयोग रहेको बताए । उद्योगीले आफ्नो नीजि जग्गा हो भन्दैमा स्थानीय सरकार र सरोकारवालाहरू र सँधियारहरूलाई वेवास्ता गरेर भट्टा सञ्चालन गर्न पाउँदैनन् । कानूनी प्रकिया पुरा गरेर कुनै उद्योग , कृषि उद्योग, पशुपालन वा अरु प्रदुषण नगर्ने प्रकार उद्योग खोल्न सकिन्छ,’ उनले भने ।
स्थायीय बृद्ध तुलसीराम दङ्गालले २०७३ कात्तिक ९ गते तत्कालिन तोपगाछीबाट ईटा भट्टा खोल्न स्थानीयको सहमति माग भएको बताए । तर, त्यसैबेला हालका वडाध्यक्ष केदार कट्वालको अगुवाईमा स्थानीय ३२० परिवारको हस्ताक्षर सहित घरेलु उद्योग कार्यालय झापामा असहमति पत्र बुझाएको उनले बताए । तर, भट्टा सञ्चालकले उतिबेला नै धम्क्याएको उनले बताए । उनले स्थानीयको असहमति हुँदा हुँदै भट्टा राखे रगतको खोलो बगाउन तयार रहेको बताए ।
रतनचौन टोल विकास समितिका अध्यक्ष सन्तोष कट्वालले साढे ३ सय परिवारको उठिबास हुने गरी कुनै पनि हालतमा भट्टा खोल्न नदिने बताए । उनले गाउँपालिका उपाध्यक्ष बेणुप्रसाद शिवाकोटीले पनि अब प्रतिकारमा उत्रनु भनेको बताए । उनले स्थानीय नागरिक प्रतिकारमा उत्रिदाँ हुने क्षतिको जिम्मा उद्योगीले नै लिनु पर्ने बताए ।
यता उद्योग सञ्चालनको तयारीमा रहेका ब्यवसायी गुणराज थापा कानूनी प्रक्रिया नपु¥याई उद्योग नखोल्ने बताउँछन् । प्रधानमन्त्री केपी ओली निकट रहेका थापाले सो क्षेत्रमा गरिमा टायल्स प्रा.ली नामक उद्योग स्थापना गर्न लागेका छन् । २५ करोड रुपैयाँ लगानीमा ईट्टा उद्योग खोल्न लागेको भन्दै उनले ३० जनालाई रोजगारी दिने बताए ।