धादिङ, २० माघ । धादिङका पुराना व्यावसायी चक्रबहादुर भण्डारीले राजधानीको माछापोखरीको घर खरिद गर्दा आफुहरु नै ठगिएको बताएका छन् ।
माघ १४ गते दियोपोस्टमा प्रकाशित समाचारको खण्डन गर्दै उनले आफूहरुले काठमाडौं माछापोखरीका काजिराम पियासँग घरको बैना गर्दा ठगिएको बताएका हुन् ।
घरधनी भनिएका काजिराम पियाले बैनाको नाममा आफुहरुसँग ८० लाख रुपैयाँ लिएर घर पास नगरि बेपत्ता भएको उनले बताए । भण्डारीबाट पीडित भनिएका पियाले लिएको चेकको फोटो समेत दियोपोस्टलाई उपलब्ध गराएका छन् । तर, भण्डारीलाई घर विक्री गर्नुअघि नै अर्का एक व्यक्तिसँग पनि बैना गरेको कागज उनले उपलब्ध गराएका छन् ।
आजभन्दा ५ वर्षअघि काठमाडौंको माछापोखरिस्थित भव्य घर धितोमा राखेर काजिराम पियाले प्राइम कमर्सियल बैंकबाट ४ करोड रुपैयाँ ऋण लिए । बैंकले आफ्नो घर सेटिङमा लिलाम विक्री गरेको भन्दै पियाले विभिन्न निकायमा मुद्दा दायर गरेका थिए । मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधिन छ ।
नियमित कर्जा तिरेकै अवस्थामा बैंकले घर लिलाम गर्न लागेको भन्दै उनले आफ्नो घर धादिङका व्यावसायी चक्रबहादुर भण्डारी र उनका छोरा गोविन्द भण्डारीलाई विक्री गर्न बैना गरेका थिए ।
काजिरामले आफ्नो घर चलनचल्तीको भाउ भन्दा कम मुल्य ६ करोड ४० लाख रुपैयाँमा भण्डारीलाई विक्री गर्ने सम्झौता गरेको बताएका थिए । २०७५ मंसिर १७ गते उनले लिखितम गरेरै घर बेच्ने निर्णय गरेका थिए । भण्डारीले उनको घर बैनाका लागि शुरुमा ५० लाख रुपैयाँ दिएको बताए ।
‘पहिले ५० लाख बैना गर्न दियौँ । फेरी पछि समस्या पर्यो छोरीको विहे गर्नुपर्यो भनेपछि ३० लाख दियौँ,’ चक्रबहादुरले दियोपोस्टसँग भने,‘बैना रकम लिएपछि काजिराम हामीबाट सम्पर्क विहिन भए । पछि बुझ्दै जाँदा हामीलाई उक्त घर बैना गर्नुअघि अर्को एक व्यक्तिलाई पनि बैना गरेको रहेछ । उसले उक्त घर पास नगर्न वडासम्मै चलखेल गरेको रहेछ ।’
ऋण तिर्नै नसकेपछि पियाको घर नागरिक राष्ट्रिय दैनिकमा २०७६ जेठ ७ गते ३५ दिने सुचना निकालेको थियो । बैंकले लिलाम गर्ने भएपछि आफूहरुले नै लिलाम सकारेको भण्डारीको भनाई छ । ‘म बैंकले घर लिलाम गर्दा विदेशमा थिएँ । यहाँ छोराहरुले लिलाम सकारेका हुन् । त्यस्तो कुनै सेटिङ र मिलेमतो छैन । बैंकका अध्यक्षलाई पनि मैले चिनेको छैन,’ भण्डारीको दाबी छ ।
यता काजिरामले भने आफ्नो घर बैंकले नै मुल्याकन गरेको भन्दा थोरैमा सेटिङमा लिलाम विक्री गरिएको आरोप लगाउँदै आएका छन् । बजार मुल्य अनुसार १५ करोड रुपैयाँ पर्ने घर बैंकले ५ करोड ११ लाखमै लिलाम विक्री गरेको उनको आरोप छ ।
बैंकले लिलाम गरेको घर जिल्ला अदालतमा मुद्दा परेपछि यतिबेला अदालतले रोक्का गरिदिएको छ । तर, यता भण्डारी परिवार भने बैंकलाई नियमित किस्ता बुझाउँदै आएको बताउँछन् । ‘अदालतले घर रोक्का राखेको छ । न घर प्रयोग गर्न पाइएको छ । न घरबाट कुनै आम्दानी भएको छ । तर, नियमित किस्ता बुझाइरहेका छौँ,’ उनले भने,‘हामी झनै समस्यामा छौँ । घरको संरचना परिवर्तन गरेर अलि राम्रो बनाउन पनि सकेका छैनौँ ।’
यता काजिरामले भने चक्रबहादुर भण्डारीले घरको सामान चोरी गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका छन् । तर, भण्डारी भने आफूले नभई काजिरामले नै घरको सामान निकालेर आफन्तको घरमा लगेको र उल्टो आफूलाई जाहेरी दिएको बताए ।
‘नजिकै उसको आफन्तको घर रहेछ । उसले सबै सामान आफ्नो आफन्तको घरमा राती राती लगेछ । हामीलाई पो उल्टो चोरीको आरोप लगायो,’ भण्डारीले भने,‘७० वर्ष पुग्न लागेँ अहिलेसम्म कतै इमान बेचेको छैन । केही गलत गरेको छैन । तर, यो घर किन्दा मलाई हुँदै नभएको आरोप लाग्न थालेको छ ।’
उनका अनुसार काजिराम पियाले बालाजुस्थित रहेको हाल रोक्का रहेको घर भण्डारीलाई बैना गर्नुअघि नै २०७५ श्रावण २८ गते अर्घाखाँची घर भएका सविन खड्कालाई ६ करोड २५ लाखमा विक्री गर्न बैना गरेका थिए । खड्काबाट बैनाबापत ७० लाख रुपैयाँ लिएर पियाले उक्त रकम नतिरी फरार रहेको कागजातमा देखिन्छ ।
पीयाबाट पीडित बनेका खड्काले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका थिए । उनको मुद्दामा जिल्ला अदालत काठमाडौंले घरधनी भनिएका काजिराम पियाबाट रकम ब्याजसहित ७५ लाख रुपैयाँ रकम तिराउने फैसला गरेको पाइएको छ ।
भण्डारीको समेत ८० लाख रुपैयाँ बैना रकम लिएर बेपत्ता भएका काजिराम विरुद्ध उनले महानगरीय अपराध महासाखामा जाहेरी दिएका थिए । जाहेरीपछि पक्राउ परेका पिया केही दिन हिरासत बसेर छुटेका थिए । उनलाई ठगी मुद्दामा प्रहरीले पटक पटक पक्राउ गरेको समेत अर्का एक पीडितले बताए ।