
दियोपोस्ट संवाददाता,
धादिङ, २० माघ । १३ वर्षदेखि आफ्नो छोरी बेपत्ता भएको भन्दै दियोपोस्ट मार्फत खोजिदिन आग्रह गरेकी धादिङ निलकण्ठ ९ सालबोटेकी शोभा दुवाडीले अन्तत आफ्नी छोरीसँग कुराकानी गर्न पाएकी छिन् ।
छोरी रजनी अर्यालसँग शोभाले भर्चुअल रुपमा भिडियो कल गर्न पाएकी हुन् । बाल भविष्य संगठन नेपाल नामक संस्था मार्फत धर्मपुत्रको रुपमा जर्मन पुगेकी उनकी छोरी रजनीले केहीदिनअघि आमासँग भिडियो संवाद गर्न पाएकी हुन् ।
छोरी बेपत्ता भएपछि बेचिएको आशंका गरेकी उनलाई संस्थाका अध्यक्ष तथा नेपाली कांग्रेस धादिङका सभापति रमेश धमलाको पहलमा भर्चुअल रुपमा कुराकानी गराइएको हो ।
भिडियो कुराकानीमा रजनीले आफू नेपाल फर्कन चाहेको भएपनि कोरोना संक्रमण र लकडाउनका कारण आउन नसकेको र एक वर्षपछि नै नेपाल आउने बताएकी छिन् ।
बाल्यकालमै धर्मपुत्रको रुपमा जर्मन पुगेकी उनले आफूले शुरुमै आमालाई पहिचान गरेको शोभाले बताइन् । ‘छोरीले शुरुमै मलाई ममि भनेर बोलाइन । उनले अंग्रेजीमा बोलेको हुनाले मैले केही बोल्न सकिनँ । तर, त्यो कुराकानीभर म रोएर बसेँ,’ शोभाले दियोपोस्टसँग भनिन्,‘समाचार आएपछि मैले छोरीको मुख हेर्न पाएँ । म असाध्यै खुसी छु । उनी नेपाल आएको दिन म सबैभन्दा खुसी हुनेछु ।’
धमलाले आफै सहभागी भएर रजनीको र आमाको संवाद अनुवाद गरेका थिए । ‘रमेश सरले यताको कुरा र उताको कुरा अनुवाद गरिदिनु भयो । हामी नानी फर्कने आशामा छौँ । नानीलाई ल्याइदिने काम रमेश सरले नै सक्नुहुन्छ,’ शोभाले भनिन् ।