काठमाडौं, २९ माघ । प्रभु मनि ट्रान्सफरमाथि नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । रेमिट्यान्सको नाममा हुण्डिको शंकाष्पद कारोबार गरेको पाइएपछि प्रभु मनि ट्रान्सफरलाई जरिवानासहितका विभिन्न कारबाही गरेको राष्ट्र बैंक स्रोतले जनाएको छ ।
विदेशमा संकलित करिब १ अर्ब ६७ करोड रुपैयाँ रेमिट्यान्स नेपाल नल्याएर उतै हुण्डिको कारोबार गरेको राष्ट्र बैंकले अनुसन्धामा फेला पारेको छ ।
बुधबार राष्ट्र बैंकले कारबाही गर्ने निर्णय गर्न सञ्चालक समितिको बैठक बसेको थियो । उक्त बैठकमा स्पष्टिकरण दिनका लागि भन्दै प्रभु बैंकका सिइओ अशोक शेरचन र प्रभु बैंकका निवर्तमान अध्यक्ष देवी भट्टचन राष्ट्र बैंक पुगेका थिए ।
प्रभु मनि ट्रान्सफरलाई ५० हजार जरिवाना र विदेशमा हुण्डिको नाममा लुकाएको १ अर्ब ६७ करोड रुपैयाँको १० प्रतिशतको दरले ब्याज तिराउने, सचेत गराउने लगायत तीन चरणको कारबाही भएको हो ।
‘यो एक प्रकारको हुण्डिको कारोबार हो । मलेशिया स्थित प्रभु रेमिट्यान्समा जम्मा भएको रेमिट्यान्सको रकमलाई नेपाल नपठाई उता उतै युरोप अमेरिकासम्म पुर्याएको पाइयो,’ स्रोतले भन्यो,‘यसमा हामीले लामो अनुसन्धानपछि कारबाही गरेको हो ।’
प्रभु समुहले यसरी अवैध रुपमा हुण्डिको कारोबार गरेको विषयमा राष्ट्र बैंकले छानबीन थालेपछि अध्यक्ष देवी भट्टचनले सेटिङमै अध्यक्ष पदबाट राजिनामा दिएका थिए । २०७५ सालअघिसम्म विदेशमा रेमिट्यान्स कम्पनीले पैसा प्राप्त नगरीकनै लाभग्राहीलाई रेमिट्यान्सको रकम यता भुक्तानी गर्न पाउने व्यवस्था थियो । हाल त्यसो गर्न पाइँदैन । विदेशमा रेमिट्यान्स पठाउने मानिसबाट रेमिट्यान्सबापतको रकम प्राप्त गरेपछि मात्र यहाँका लाभग्राहीलाई भुक्तानी गर्नुपर्ने व्यवस्था विदेशी विनिमय विभागले गरेको छ ।
राष्ट्र बैंकले प्रभु बैंकमाथिको अनुसन्धान भने जारी रहेको जनाएको छ । आफैं सहायक कम्पनी प्रभु मनी ट्रान्सफरलाई कर्जा दिएका विषयमा राष्ट्र बैंकले अनुसन्धान गरिरहेको हो । सोही क्रममा गत बिहीबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको निर्णयले ‘तपाईंलाई कारबाही किन नगर्ने ?’ भन्दै प्रभु बैंकका पूर्वअध्यक्ष भट्टचन र प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई पनि स्पष्टीकरणको पत्र पठाइसकेको स्रोतले बताएको छ ।
सञ्चालक रहेको बैंकबाट आफू संलग्न अर्को कम्पनीलाई कर्जा दिन नपाउने व्यवस्था छ । सो व्यवस्थाविपरीत प्रभु मनी ट्रान्सफरले प्रभु बैंकबाट ऋण लिएको भटिएको समेत पाइएको छ ।
त्यस्तै राजधानीको स्युचाटारमा हुँदै नभएको हाटल मखमली र मुद्दा परेको विवादित जग्गामा प्रभु बैंकले ३० करोड रुपैयाँ ऋण दिएको विषयमा पनि राष्ट्र बैंकको सुपरिवेक्षण विभागले अनुसन्धान थालेको छ । ‘हामीले छानबीन थालेका छौँ । यो खराब कर्जा नै हो भन्ने हाम्रो निष्कर्श छ,’ स्रोतले भन्यो,‘सञ्चार माध्यममा आएका खबलाई प्राथामिकता दिएर हामीले छानबीन थालेका हौँ ।’
प्रभु समुहले मलेशियामा प्रभु रेमिट दर्ता गरेपछि रेमिट प्रमुख भएर गएकी कुशुम लामाले मलेशियन नागरिकसँग विवाह गरेकी थिइन् । मलेशियामा शंकाष्पद कारोबारमा समलग्न रहेको स्रोतले जनाएको छ ।