मालिकले जबरजस्ती निकालेपछि टिभिएस मोटरसाइकलका मजदुर आन्दोलित : रिले अनसन शुरु !

दियो पोस्ट  

काठमाडौं, ३ फागुन । अखिल नेपाल अटोमोवाईल्स मजदुर संघले शंकर समुहले सञ्चालन गरेको जगदम्वा मोटर्स अन्तर्गत एसजी इन्जीनियरिङ प्रा.लि.बाट निश्कासित मजदुरहरुको पुनर्वहालीका लागि रिले अनसन सुरु गरेको छ ।

हालै जगदम्वा मोटर्स अन्तर्गत एसजी इन्जीनियरिङ प्रा.लि.मा कार्यरत २० जना श्रमिकहरुलाई बिनाकारण निष्काशन गरेपछि चरणबद्ध संघर्षलाई अघि बढाएको अखिल नेपाल अटोमोवाईल्स मजदुर संघले आजदेखि लागि रिले अनसन सुरु गरेको हो ।

अखिल नेपाल अटोमोवाईल्स मजदुर संघका केन्द्रीय अध्यक्ष पुरन्जन गिरीले निश्कासित श्रमिकहरुको पुनर्वहालीका लागि चरणबद्ध संघर्षको कार्यक्रम गर्दै आएको संघले आइतबारदेखि काठमाडौंको जडिबुटीस्थित एसजी इन्जीनियरिङको टिभिएस प्रतिष्ठानमा रिले अनसन सुरु गरेको जानकारी दिए ।

‘बिनाकारण निश्कासित श्रमिकहरुको निशर्त पुनर्वहाली नभए हामी आमरण अनसन बस्न बाध्य हुनेछौं,’ अध्यक्ष गिरीले भने, ‘हाम्रो संघले घोषणा गरेको चरणवद्ध संघर्षको कार्यक्रमलाई अखिल नेपाल ट्रेड युनियन महासंघले ऐक्यबद्धता मात्रै जनाएको छैन्, श्रमिकमारा रोजगारदातालाई घुँडा टेकाएरै छाड्ने प्रतिवद्धता जनाएको छ ।’

यस्तै अध्यक्ष गिरीले आज रिले अनसनको पहिलो दिन आयोजित कोण सभामा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष एसबी थापा मगर, उपमहासचिव शादिकराम काफ्ले, प्रतिगगन विरुद्ध उपत्यका संघर्ष समितिका संयोजक दिपक केसी साथै अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय महासचिव शरद सुवेदीले लगायतले ऐक्यवद्धता जनाउनुका साथै संघर्षबाटै मजदुरको निश्कासित श्रमिकको पुनर्वहाली र योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन गराउन सिंगो संगठन निश्कासित मजदुरसँगसँगै आन्दोलनमा होमिने बताएको जानकारी दिए ।

गदम्बा समुहले नेपालमा आधिकारिक रुपमा टिभिएस मोटरसाइकल बेच्दै आएको छ । जगदम्बा मोटर्सको प्रबन्ध निर्देशक साहिल अग्रवाल हुन् । उनी नेपाल विद्युत प्राधिकरणलाई २ अर्ब भन्दा बढी रकम विद्युत महशुल नबुझाएको अभियोगमा विवादित बनेका थिए । जगदम्बा समुहले नेपालमा अर्बौंको धन्दा गर्दै आएको छ ।

टिभिएसमा कार्यरत कर्मचारीहरुलाई अग्रवालले वर्षौंदेखि नियुक्ती पत्र, बोनस नदिएको एक कर्मचारीले बताए ।

जगदम्बा मोटर्स शंकर समुहले सञ्चालन गर्दै आएको कम्पनि हो ।

शंकर ग्रुपद्वारा टिभिएसका मजदुरमाथि ज्यादती : अन्यायपूर्वक २० मजदुर निष्काशन !

सिफारिस