दियोपोस्ट संवाददाता
धादिङ, ४ फागुन । उत्तरी धादिङको हिमाली क्षेत्र रुवीभ्याली गाउँपालिका जोड्ने साङकोष तिप्लिङ सडक मार्ग अर्थात दामन मार्ग अन्तर्गत पर्ने डुन्डुरेखेलामा निर्मित मोटरेबल पुलमा स्थानिय गुण्डागर्दीमा समलग्न युवाहरुले स्क्याभेटर लगाइदिएका छन् ।

पुल निर्माण सम्पन्न भएको तीन महिनासम्म ठूला मालबाहक सवारी साधन चलाउन रोक लगाएपनि रुविभ्याली क्षेत्रमा गुण्डागर्दीमा समलग्न च्याङबा भनिने राकेश तामाङ, झ्याला भनिने रोहित तामाङ र डिले भनिने अजय तामाङको समुहले २२ टन भन्दा धेरैको स्क्याभेटर जबरजस्ती रुपमा डुन्डुरे पुलमा लगाएका हुन् । उनीहरुले उक्त स्क्याभेटर पुलमाथि चढाएपछि निर्माण सम्पन्न भएको पुल नै चर्किएको छ ।

स्थानिय प्रहरीले उक्त पुलबाट स्क्याभेटर पार गराउन निषेध गरेपनि गुण्डाहरुको समुहले धम्की दिएर जबरजस्ती स्क्याभेटर चढाएका थिए । ३ महिनासम्म सवारी साधन चलाउन निषेध गरेपनि पूर्व कानुनराज्य मन्त्री तथा नेपाली कांग्रेसका नेता दिलमान पाख्रिनले आफूसहित केही गाडी जबरजस्ती पार गराएका थिए ।
झार्लाङमा भएको एक कार्यक्रममा नेता तामाङ पुल निर्माण भएको एक महिनामै पुगेका थिए । उनले गाडी पार गराएपछि अन्य युवाहरुले समेत जबरजस्ती मालबाहक गाडीहरु पुलबाट पार गराएका हुन् । जसले गर्दा पुल नै धरापमा परेको छ । ‘रुविभ्याली जोड्ने यो पुलमा हामीले निकै मेहनत गरेका थियौँ । सरकारले ५ करोडभन्दा बढी लगानी गरेको थियो । तर,आज सरकारको लगानी बालुवामा पानी भने जस्तो भयो,’ निर्माणमा समलग्न एक सामाजिक अभियान्ता भन्छन्,‘प्राविधिक रुपमा निर्माण सम्पन्न नभइसकेको पुलमाथि स्क्याभेटर चलाउनेमाथि प्रशासनले कारबाही गरोस् ।’

खनियावाबास वडा नम्बर ३ डुन्डुरेमा रहेको प्रहरी चौकीका हवल्दार रामचन्द्र यादवका अनुसार बोराङका ती युवाहरुले जबरजस्ती स्क्याभेटर पार गराउन खोजेपछि प्रहरीले रोकेको थियो । शनिबार राती १२ बजे ती युवाहरुले स्क्याभेटर चढाएर प्रहरीलाई समेत छक्याएको थियो ।
‘हामीले गएर रोक्यौँ । उनीहरुले हामी रोक्छौँ भने । तर, राती १२ बजेतिर स्क्याभेटर जबरजस्ती चढाएर लगेछन्,’ हवल्दार यादवले दियोपोस्टसँग भने ।
भिडियो