दियोपोस्ट संवाददाता,
धादिङ, ५ फागुन । धादिङको गजुरी गाउँपालिकाले स्थानिय जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । गाउँपालिकाको महिला तथा बालबालिका समन्वय ईकाइले स्थानिय अगुवा जेष्ठ नागरिकलाई जाडोको न्यानो कपडा वितरण गरेको हो ।
बुधबार गाउँपालिकामा आयोजित वितरण कार्यक्रममा महिला तथा बालबालीका समन्वय इकाईले न्यानो कपडा हस्तान्तरण गरेको हो । समन्वय इकाई प्रमुख सरस्वती सिलवालका अनुसार गाउँपालिकाले ९ जना ज्येष्ठ पुरुष, ८ जना ज्येष्ठ महिला र ४ जना एकल महिला तथा पुरुषलाई न्यानो वितरणका लागि छुट्याइएको हो ।
यद्धपी उनीहरु सबैको हातमा न्यानो कपडा भने पुगिसकेको छैन । ‘प्रतिनिधिलाई हस्तान्तरण गरेका हौँ । उहाँहरुले सबैको हातमा पुर्याएपछि रिपोर्ट दिनुहुन्छ,’ उनले भनिन्,‘स्थानिय ज्येष्ठ नागरिक अगुवाको माग अनुसार हामीले दिएका हौँ ।’
महिला तथा बालबालीका ईकाईले एउटा वडामा २१ जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने योजना रहेको सिलवालले बताइन् ।
गाउँपालिकाले जाडो सकिएपछि स्थानियबासीलाई न्यानो वितरण गरेर ‘नाटक’ गरेको भन्दै चर्को आलोचना समेत भएको छ ।
‘मंसिर पुसको कठ्यांग्रिदो जाडोमा कसैले वास्ता गरेनन् । तर, फागुन लागेपछि गाउँपालिकाले न्यानो कपडा दियो रे,’ एक स्थानिय ज्येष्ठ नागरिकले भने,‘हामीलाई जाडो सकिएपछिको न्यानो कपडा चाहिएको छैन ।’