
धादिङ, ५ फागुन । धादिङ जिल्लाको गंगाजमुना गाउँपालिकामा भ्रष्टाचारको विरोधमा स्थानियबासीहरुले गाउँपालिका कार्यालय घेराउसहित तालाबन्दी गरेका छन् ।
गाउँपालिकाले खरिद् गरेको घाँस काट्ने मेसिनको मोटर खरिदमा गाउँपालिका अध्यक्ष बलबहादुर अधिकारीको मिलेमतोमा भ्रष्टाचार भएको भन्दै दियोपोस्टले समाचार छापेको थियो । समाचार प्रकाशन भएको भोलीपल्टै अख्तियारले गाउँपालिकामा छापा मारेको थियो । गाउँपालिकाकी इन्जिनियर पुजा कार्की ९५ हजार घुससहित रंगेहात पक्राउ परेकी थिइन् ।
स्थानियबासीले गाउँपालिकामै निवेदन समेत दिएका छन् । गत माघ २८ गते र फागुन २ गते उजुरी परेको थियो । उक्त उजुरीपछि गाउँपालिकाले छानबीनका लागि समिति गठन गरेको छ ।
गाउँपालिकामै कार्यरत कर्मचारी मैनालीको संयोजकत्व छानबीन समिति बनाइएको छ ।
गाउँपालिकामै भएको भ्रष्टाचार छानबीनका लागि गाउँपालिकाकै कर्मचारीको नेतृत्वमा छानबीन समिति बनाइएपछि स्थानियबासी थप आन्दोलित बनेका छन् । छानबीन समिति नै चित्त बुझ्दो नभएपछि स्थानियबासीले तालाबन्दी गरेका हुन् ।