मेलम्चीको पानी ल्याउने भन्दै खानेपानी मन्त्रीले भेटे प्रधानमन्त्री !

मेलम्चीको पानी ल्याउने भन्दै खानेपानी मन्त्रीले भेटे प्रधानमन्त्री !

काठमाडौं, ६ फागुन । खानेपानी मन्त्री मणिचन्द्र थापासहित मेलम्ची खानेपानी आयोजनाका उच्च पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । उनीहरुले काठमाडौं उपत्यकामा छिट्टै खानेपानी आउने समेत जनाएका छन् ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष खानेपानी मन्त्री मणिचन्द्र थापासहित मन्त्रालयका उच्चपदाधिकारीहरुद्वारा प्रस्तुत मेलम्ची खानेपानी आयोजनासम्बन्धी अद्यावधिक प्रगति पेश गरेका छन् ।


सुरुङमार्गमा उत्पन्न समस्या निराकरण गर्दै तयारी हालतमा राख्ने र काठमाडौं उपत्यकाको वितरण प्रणालीलाई समेत मेलम्चीको पानीका लागि दुरुस्त बनाउने काम भइरहेको जनाइएको छ । यस कार्यले पूर्णता पाउनासाथ काठमाडौं उपत्यकामा मेलम्ची पानीको प्रारम्भिक वितरण सुरु हुने जानकारी प्रधानमन्त्रीलाई दिइएको छ ।

पानी सुरुमा नयाँ र पुराना दुवै लाइनबाट वितरण गरिने छ । यसका लागि नयाँ तथा पुराना ट्यांकीहरुबाट पुरानो र नयाँ दुवै प्रणालीमा पानी प्रवाह गर्न सकिने गरी तयारी गरिएको छ ।


मेलम्चीको पानी पाइपहरुबाट पठाउँदा हुनसक्ने चुहावट र कुनै स्थानमा बढी मात्रामा पानी निस्कँदा हुने समस्या तत्कालै समाधान गर्नका लागि समेत काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले तयारी गरिरहेको जानकारी पनि सो प्रस्तुतीकरणमा दिइयो ।

यसैगरी काठमाडौंको ढल निकासलाई दीर्घकालीन ढंगले हल गर्न केयु केएलले सन् २०५० लक्षित गरी गुरु योजना तयार पारेको छ ।

Trending News