चितवन कारागारभित्रै शिव पौडेलको हत्यामा समलग्न ३ कैदी ‘असल चालचलन’मा रिहा !

दियो पोस्ट  

काठमाडौं, ७ फागुन । राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसका अवसरमा ५ सय ९५ जना कैदीबन्दीको कैद माफी मिनाहा गरेकी छन् । कारागार विभागले गरेको असल चाल चलनको सिफारिसको आधारमा उनीहरुलको ५० प्रतिशत कैद मिनाह गरिएको हो ।

राष्ट्रपति भण्डारीले गरेको सिफारिस अनुसार कैद माफी पाउनेमा कारागार भित्रै कैदीको हत्यामा समलग्न रहेकाहरु समेत रहेको पाइएको छ ।

२०६८ पुसमा जिल्ला कारागार चितवनभित्रै तरुण दलको अध्यक्ष शिव पौडेलको हत्या भएको थियो । उनको हत्यामा फणिन्द्र श्रेष्ठ, दिल बहादुर मोक्तान र सुनिल केसी समलग्न रहेका थिए ।

उनीहरुलाई थप २० वर्ष कैद सजाय फैसला भएको थियो । तर, कारागार भित्रै हत्या जस्तो गम्भिर अपराध गर्नेलाई पनि कारागार विभागले आम माफीको सिफारिस गरेको पाइएको छ ।

‘उहाँहरु ३ जना नै रिहा हुने तयारीमा हुनुहुन्छ । कागज मिल्दैछ । आजै छु्ट्ने कुरा छ,’ चितवन कारगारका जेलर कमल काफ्लेले दियोपोस्टसँग भने,‘उहाँहरुले जेल प्रशासनलाई सहयोग गरेको पाइयो । त्यही आधारमा सिफारिस भएको हो ।’

जेलभित्रै हत्या गर्ने मान्छे कसरी असल चालचलनमा सिफारिस भयो भन्ने दियोपोस्टको प्रश्नमा उनले त्यो पहिलेको कुरा भएको बताए ।

मन्त्रिपरिषद्को सिफारिसमा उनिहरुको कैद माफी मिनाहा गरेको हो । राष्ट्रपतिले प्रजातन्त्र दिवस, गणतन्त्र दिवसलगायतका अवसरमा कैदीबन्दीको कैद मिनाहा माफी गर्न पाउने कानूनी व्यवस्था रहेको छ ।

पौडेलको हत्यामा समलग्नहरु तत्कालिन नेकपा एमाले निकट युवा संघका कार्यकर्ता रहेको त्यतिबेला नै सार्वजनिक भएको थियो । उनीहरु शिवकै भाईको हत्या अभियोगमा सजाय भई कारागार चलान भएका थिए ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले जेलर र सिडिओको सिफारिसको आधारमा आफुहरुले पठाएको बताए । यद्धपी घटनाको विषयमा आफूलाई कुनै जानकारी नभएको उनले बताए ।

सिफारिस