सप्तरी, ९ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पुनस्थापना पछि प्रधानमन्त्री केपी ओली सकिने बताएका छन् । संसद विघटन सम्बन्धी मुद्दाको अन्तिम सुनुवाई नजिकिँदै जाँदा प्रधानमन्त्री ओली आत्तिन थालेको उनको भनाई छ ।
‘कांग्रेसले प्रतिनिधिसभाको विघटन असंवैधानिक हो भनी निर्णय गरेको र वडास्तरसम्म आन्दोलन गरेको हो । असंवैधानिक भनेपछि संवैधानिक बनाउनुपर्छ भन्ने हो । सच्चिनुपर्छ भन्ने नै हो । सच्याउनु भनेको पुनर्स्थापना नै हो’ आइतबार राजविराजमा नेपाल प्रेस युनियन सप्तरीले गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले भने, ‘यसबारे कसैमा भ्रम नहोस् ।’
उनले अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गरेपछि केपी ओलीको दिन सकिने बताए । ‘सकिन लागेँ भनेर नै अदालतलाई धम्क्याउनेतर्फ लागेका छन्,’ उनले भने ।
नेता पौडेलले अदालतले संविधान अनुसार फैसला गर्न लागेको आभास ओलीलाई भइसकेको बताए ।
‘संविधानमा भएको व्यवस्थालाई टेकेर सर्वाेच्च अदालतले संसद पुनर्स्थापना गर्न लागेको ओलीले थाहा पाइसके’ उनले भने, ‘त्यही भएर उनी अत्तालिए ।’