गजेन्द्र हमालले ३० घण्टा सम्हालेको उद्योग मन्त्रालयले ७ महिनासम्म मन्त्री पाएन !

diyopost.com
दियो पोस्ट  आइतबार, माघ २३, २०७८ | १:३२:५२

 

काठमाडौं । गत असोज २२ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त भएका गजेन्द्र हमाल ३० घण्टा पनि पदमा रहन सकेनन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको कोटाबाट मन्त्री नियुक्त भएका हमालकै कारण नेपाल बार एशोशियसन हालसम्म पनि आन्दोलनमै छ । हमालले त पदबाट राजिनामा दिए तर, उनकै कारण प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा मुद्दा हेर्न नमिल्ने तर, काम चलाउने हैसियत नभएका कामकाज विहिन प्रधानन्यायाधीशमा खुम्चनु परेको छ ।

तर, मुलुकको उद्योग तथा आपूर्ति क्षेत्रको नेतृत्व गर्नु पर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय भने नेतृत्व विहिन बन्नु परेको छ । गत असार ३ गते प्रधानमन्त्रीको पदबहादली गरेका देउवाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लामो समयदेखि नियुक्त गर्न सकेका छैनन् ।

सरकार बनेको ३ महिनापछि हमाललाई मन्त्री नियुक्त गरेपनि विवादका कारण उनले राजिनामा दिएपछि उक्त स्थानमा कसैलाई नियुक्त गर्न सकेका छैनन् । हमालले राजिनामा दिएपछि मन्त्रालयको नेतृत्वमा देउवा नै छन । तर, मन्त्रालय मातहतका निकायहरु भने मन्त्री नहुँदा प्रशासनिक कामकाज ठप्प भएको बताउँछन् ।

उद्योग मन्त्रालय मातहत रहेको आयल निगमबाट केही दिनअघि विदा भएका सुरेन्द्र पौड्यालले ६ महिनासम्म मन्त्रीको अनुहार देख्न पाएनन् । मन्त्री नहुँदा आयल निगमको गतिविधिमा समेत असर परेको एक अधिकारी बताउँछन् । ‘मन्त्रीस्तरबाट हुने अधिकांश काम ठप्प छ ।

मन्त्रीस्तरको काम लिएर प्रधानमन्त्रीकोमा जानुपर्ने बाध्यता छ,’ एक अधिकारीले भने,‘तर, प्रधानमन्त्रीलाई प्रधानमन्त्री कार्यालयकै गतिविधिमा ध्यान दिनुपर्ने भएर होला हामीले त समय पाउन पनि मुस्किल छ ।’

त्यसो त प्रधानमन्त्री देउवाकै काँधमा रक्षा मन्त्रालयको जिम्मेवारी समेत छ । कांग्रेस महाधिवेशनमा महामन्त्री पदमा पराजित भएपछि तत्कालिन मन्त्री मिनेन्द्र रिजालले पदबाट रक्षा मन्त्रीबाट राजिनामा दिएका थिए ।

कांग्रेस भित्र फेरी नयाँ अनुहारलाई मन्त्रीमा नियुक्त गर्ने तयारी भएको चर्चा छ । तर, २ जना मन्त्रीका लागि आधा दर्जनभन्दा बढी नेताको अपेक्षा रहेका कारण सहज भने छैन ।

सम्बन्धित खबर