धादिङमा गुण्डागर्दि सल्बलाउँदै : एक युवामाथि ४० जना गुण्डाको आक्रमण, प्रहरीले लिएन जाहेरी !

diyopost.com
दियो पोस्ट  आइतबार, फाल्गुण ०८, २०७८ | २२:३६:०८

धादिङ । धादिङमा विभिन्न समुहको गुण्डागर्दी र ज्यादती निकै बढ्न थालेको छ । पछिल्लो समय गुण्डाहरुको समुहले एक युवामाथि ज्यानै लिनेगरि आक्रमण गर्दा समेत प्रहरीले भने जाहेरी समेत दर्ता नगरेको खुलाशा भएको छ ।

घटना गत माघ २६ गतेको हो । निलकण्ठ नगरपालिका वडा नम्बर ३ घर भएका ३० वर्षिय राजु शाहले ज्वालामुखि ५ सिम्लेमा बालुवा खानी संचालन गरेका छन् । सोही खानीमै रहेका शाहीलाई गत माघ २६ गते कमल जिरे भनिने कमल गुरुङको समुहले बेलुका करिब ७ बजे खुकुरी प्रहार गरि गम्भिर घाइते बनाएको थियो ।

पीडितका बुवा जंग बहादुर शाहीका अनुसार जिरेको समुहमा आएका ४०÷५० जनाको समुहले हातहतियारसहित उनका छोरालाई अपहरण गरेका थिए । ‘धारिलो हतियार प्रहार गरपछि कुटपीट गरेपछि आज यसलाई मारेर खोलामा लगी फाल्ने हो भनि हात हतियार देखाई बलजफ्ती घिसार्दै बुंकोटघाट झोलुंगे पुलमा लगि मरणासन्न हुने गरि कुटपीट गरि पुलबाट फाल्न लाग्दा गाउँलेहरुले हल्ला खल्ला गरि आएपछि मेरो छोरालाई अचेत अवस्थामा छाडी भागेका हुन्,’ घाईतेका बुवा शाहीले भने,‘गाउँका मानिसहरुले उद्दार गरेपछि मेरो छोरालाई ट्रमा सेन्टरमा लगिएको छ । हाल मेरो छोरोको अवस्था गम्भिर छ ।’

शाहीले आफ्नो छोरालाई अपहरण गरि ज्यान मार्ने उद्योग गरेको भन्दै जिरेको समुहकै विरुद्ध जाहेरी दिएका थिए । उनले घटनामा समलग्न ८ जना युवाहरुको नाम जाहेरीमा दिएका थिए । तर, प्रहरीले हालसम्म पनि जाहेरी समेत दर्ता नगरेको पीडित परिवारको आरोप छ ।

स्रोतका अनुसार घटनामा समलग्न गुण्डा नाइके कमल जिरे एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादी निकट व्यक्ति हुन् । उनलाई समाजवादीका नेताहरुको संरक्षण छ । हाल वागमती प्रदेशको मुख्यमन्त्री रहेका राजेन्द्र पाण्डेलाई यो घटनामा समलग्न अभियुक्तहरुलाई जोगाइदिन पर्यो भन्दै केही व्यक्ति हेटौंडा समेत पुगेको स्रोतले जनाएको छ ।

धादिङ प्रहरी प्रमुख राकेश सिंहलाई राजनीतिक दबाव दिएका कारण घटना घटेको १२ दिन भइसक्दा पनि जाहेरी दर्ता समेत नभएको पीडितहरुको आरोप छ ।

सम्बन्धित खबर