काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी विरुद्ध सडक आन्दोलनमा उत्रिएका सर्वसाधरणमाथि प्रहरीले गोली चलाएको छ ।
बानेश्वरस्थित बुद्धनगर चोक नजिकै प्रहरीले सडकमा एक सर्वसाधरणलाई गोली चलाएको हो । गोली प्रहारबाट घाईते भएका व्यक्ति २८ वर्षिय हेमराज अवस्थी हुन् ।
उनी निरन्तर एमसीसी विरुद्धको आन्दोलनमा सहभागी हुँदै आएका छन् ।
यता बानेश्वरमै रहेको संसद भवन भित्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच सत्ता साझेदारीको विषयमा छलफल भएको छ ।
एमसीसी सम्झौता पारित गर्ने विषयमा दुई नेताबीच सहमति भएको विशेष स्रोतले जनाएको छ ।
एमालेले राख्दै आएको माग प्रति प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक रहेको समेत पाइएको छ ।
स्रोतका अनुसार संघीय सरकारको नेतृत्व देउवाले नै गर्ने र प्रदेश सरकारको नेतृत्व भने नेकपा एमालेलाई दिनेगरि सत्ता साझेदारीको सहमति हुन लागेको छ ।
सम्झौतालाई आजै बेलुका मुर्त रुप दिने तयारी छ । देउवा र ओलीको भेटमा सहभागी भएका नेता गगन थापाले बाहिर निस्किएपछि प्रतिक्रिया दिँदै अब गठबन्धनको आवश्यकता नभएको प्रतिक्रिया दिएका थिए ।
देउवा र ओलीबीच सहमति भए अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित हुने छ ।
यता शेरबहादुर देउवालाई भेटेपछि ओलीलाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पुगेका थिए ।
उनले एमसीसी पारित गर्ने सरकारको प्रस्तावमा सहयोग नगर्न अपिल गरेका थिए ।