काठमाडौं । नामकरण भएको खुसियालीमा कोसी प्रदेश सरकारले बिहीबार (आज) सार्वजनिक बिदा दिएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतले विज्ञप्ति जारी गर्दै बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएका छन् ।
प्रदेश सभाको दोस्रो कार्यकालका लागि निर्वाचित सांसद र दलका नेताले नामकरणलाई पहिलो एजेन्डा बनाएका थिए । जसअनुसार प्रदेशको नामकरणका लागि दलका नेताहरूले गोप्य छलफल गर्दै आएका थिए ।
मुख्यमन्त्रीसमेत रहेका एमाले नेता हिक्मत कार्कीलाई पहिचानको पक्षधरता लिँदै आएको माओवादी र सप्तकोसी नाम राख्न माग गर्दै आएको प्रतिपक्षी कांग्रेसले अन्तिममा आएर साथ दिए । तर, पहिचानको पक्षधरता लिएका एकीकृत समाजवादी र जनता समाजवादीले प्रदेशको नाम किराँत–लिम्बुवान सगरमाथा हुनुपर्ने प्रस्ताव दर्ता गराए ।
सत्तारूढ एमालेले सुरुमा कांग्रेसका एक सांसदसहितलाई समर्थक बनाएर प्रदेशको नाम कोसी हुनुपर्ने प्रस्ताव दर्ता गराएको थियो । माओवादीले कोसी प्रस्तावमा मतदान गर्ने, तर अन्य कुनै प्रक्रियामा सहभागी नहुने निर्णय गर्यो ।
त्यसपछि कांग्रेसले आफ्ना समर्थकलाई नाम फिर्ता लिन लगायो । एमाले एक्लैले कोसी नाममा प्रस्ताव टेबल गरायो । अन्ततः कोसी प्रस्तावमा राप्रपासहित कांग्रेस र माओवादीले पनि मतदान गरे ।