काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरूले अघि सारेको उम्मेदवारलाई मत दिने दाबी गरेका छन्।
रास्वपाको पार्टी कार्यालय धुम्बाराही पुगेर नेताहरूलाई भेटेपछि भट्टराईले पत्रकारसँग कुरा गर्दै रास्वपाका सभापति रवि लामिछाने आफ्नो दल आन्तरिक छलफलमा रहेको जवाफ दिएको सुनाए।
एमालेसँग केही समय सहकार्य पनि गरेकाले सुवास नेम्वाङजत्तिको व्यक्तित्व बन्नुपर्ने आफूहरूको मत भएको तर, अहिले पार्टीमा छलफल गरिरहेको लामिछानले जवाफ दिएको भट्टराईले बताए।
‘उहाँको भनाइ र बडील्यांग्वेजले हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको मत राष्ट्रपतिमा सुवास नेम्वाङले पाउने देखिन्छ’, भट्टराईले भने।
सबै दलसँग कुरा गर्ने प्रक्रियामा रहेको र त्यही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीसँग छलफल गरेको उनले बताए। संविधानसभामा सफल भूमिका खेलेको र सभामुखको रुपमा पनि सफल भएकाले उपयुक्त हुने तर्क आफूहरूले राखेको उनले सुनाए।