काठमाडौ । सभामुख देवराज घिमिरेले सञ्चारसम्बद्ध ऐन कानुन बनाउन र कार्यान्वयन गर्न राजनीतिक दलसँग संवाद बढाउन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा प्रेस काउन्सिल नेपालले आयोजना गरेको मिडियामा महिलाका सवाल विषयक विचारगोष्ठीमा बोल्दै सभामुख घिमिरेले विधेयक पास गर्ने थलो संसद भएकाले राजनीतिक दल र सांसदहरुसँग प्रभावकारी रुपमा छलफल गरेर आवश्यक ऐन कानुन बनाउन र विधेयक पास गर्न सुझाव दिएका हुन्। उनले महिलाका अन्तरवस्तु र सहभागिताको सवालमा राजनीतिक नेतृत्व र राज्य संयन्त्रलाई समेत सजग गराउन मिडिया स्वयम् चर्चाका विषय र नेताका भाषणलक्षित शीर्षकमा केन्द्रित हुन नहुने बताए । राज्यको चौथो अंग भनिने गरेको प्रेस जगतलाई सोहीअनुरुपको व्यवहार नगरिने गरिएकाले चौथो अंग भनिनु यथार्थपरक नभएको तर्क गर्दै उहाँले कि चौथो अंग नभन्नुपर्ने कि यथार्थपरक बनाउनुपर्ने बताए। “आमसञ्चार माध्यमसम्बन्धी विधेयक छिटो ल्याउन र प्रेस काउन्सिल ऐन संशोधन समयमै गर्नका लागि म व्यक्तिगत र संस्थागतरूपमा सुझाव लिन तयार छु” उनले भने ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिडियामा हुने प्रस्तुति र स्थानले महिलाका सवालमा समग्र अर्थ राख्ने बताए । उनले मिडियामा स्थान बढाउन राजनीतिक सहभागिता, नेतृत्व एवं प्रस्तुतिले काम गर्ने बताए । उनले समग्र राज्य र मिडियालाई महिलाका सवालमा समेत जिम्मेवार बनाउन प्रेस काउन्सिल, पत्रकार महासंघ लगायत नीति निर्माताले भूमिका निर्वाह गर्नैपर्ने बताए । काउन्सिलले निर्देशिकाको प्रभावकारी कार्यान्वयनमार्फत अभ्यास गरिरहेको प्रष्ट पारे ।