प्रधानमन्त्री प्रचण्डले जोखिम मोल्दा गठबन्धन ब्युँतियोः महामन्त्री थापा

दियो पोस्ट  

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जोखिम मोलेकै कारण पुरानै गठबन्धन ब्युँतिएको बताएका छन् । राष्ट्रपतिको उम्मेदवारको विषयमा मतभेद भएपछि आफूलाई प्रधानमन्त्री बनाउने एमालेसँगको गठबन्धन तोडेर माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड तत्कालीन चुनावी गठबन्धनमा फर्किएको थापाले बताए। नयाँ बनेको गठबन्धनका दलहरुले आफ्ना प्रदेश सांसदहरुलाई शुक्रबार संयुक्तरुपमा सम्बोधन गरिरहेका छन्। त्यसैअनुसार शुक्रबार बागमती प्रदेशको राजधानी हेटौँडामा आठ दलीय गठबन्धनका सांसदहरुलाई सम्बोधन गर्दै थापाले उक्त दाबी गरेका हुन्।

‘प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री हुने कुरा नै महत्त्वको कुरा थियो भने यो गठबन्धनमा आइरहनै पर्दैनथ्यो। यो गठबन्धन बनाउनै पर्दैन्थ्यो। माओवादी केन्द्रले उपराष्ट्रपति पनि पाउँथ्यो। त्यस्तै परे माओवादी केन्द्रले एमालेको समर्थनमा पाँचै वर्ष प्रधानमन्त्री पनि पाउँथ्यो। ल्याप्चे, तमसुक त्यो कालो दलेर जे जे गर्नु पर्ने हो उठेर बसेर सबै गरिदिन्थ्यो,’ महामन्त्री थापाले भने, ‘प्रधानमन्त्री हुने कुरा तलमाथि भए होस् तर जुन उद्देश्यका साथ यो गठबन्धन फेरि ब्युँतिन्छ र फर्कन्छ भने म त्यो जोखिम उठाउन तयार छु भन्ने कुरा माओवादी केन्द्रका अध्यक्षले, प्रधानमन्त्रीले नमानेको भए यो बाटो अघाडि बढ्ने अवस्था बन्दैन्थ्यो।’